नेपालीको दोस्रो ठूलो पर्व तिहार अर्थात् यमपञ्चक आज आइतबारदेखि सुरु भएको छ। तिहारको पहिलो दिन आज काग तिहार मनाइँदैछ।
कार्तिक कृष्ण त्रयोदशीका दिन सूर्योदय भएकाले आज शास्त्रसम्मत रूपमा काग तिहार मनाइएको हो। यस अवसरमा बिहानै कागलाई पूजा गरी दहीभात, मिठाई तथा विभिन्न परिकार खान दिने परम्परा रहेको छ।
हिन्दु धार्मिक मान्यताअनुसार कागलाई यमराजको सन्देशवाहकका रूपमा लिइन्छ। कागलाई मीठो खानेकुरा अर्पण गर्दा यमराजसमक्ष शुभ सन्देश पुग्ने र संकटबाट मुक्ति मिल्ने विश्वास गरिन्छ।
कागको पूजा गर्नु धार्मिक आस्थासँगै प्रकृति र चराचुरुङ्गीप्रतिको सम्मान तथा संरक्षणको सन्देशसँग पनि जोडिएको छ। तिहारको पहिलो दिन कागको पूजा गरेसँगै पाँच दिनसम्म मनाइने यमपञ्चक पर्वको सुरुवात भएको छ।











कनका खबर । २०८३ कार्तिक २२