लक्ष्यभन्दा बढी राजस्व संकलन गर्न सफल कनकासुन्दरी गाउँपालिका

जुम्ला । कनकासुन्दरी गाउँपालिकाले आर्थिक वर्ष २०८२/०८३ मा लक्ष्यभन्दा बढी आन्तरिक राजस्व संकलन गर्न सफल भएको छ ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दीपेन्द्र भण्डारीका अनुसार चालु आर्थिक वर्षमा गाउँपालिकाले ३२ लाख रुपैयाँ आन्तरिक राजस्व संकलन गर्ने लक्ष्य राखेको थियो। तर, लक्ष्यभन्दा १२ लाख ९३ हजार २ सय २० रुपैयाँ बढी अर्थात् कुल ४४ लाख ९३ हजार २ सय २० रुपैयाँ आन्तरिक राजस्व संकलन भएको उहाँले जानकारी दिनुभयो ।

गाउँपालिकाका अनुसार वडा नम्बर ३ ले मात्रै १० लाख १७ हजार २ सय ३९ रुपैयाँ राजस्व संकलन गरेको छ। लक्ष्यभन्दा बढी राजस्व संकलन भएपछि गाउँपालिकाको आन्तरिक आयमा वृद्धि भएको जनाइएको छ ।

गाउँपालिकाको सार्वजनिक सुनुवाइ कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत भण्डारीले आर्थिक वर्ष २०८२/०८३ को आर्थिक प्रगति प्रस्तुत गर्दै राजस्व संकलनको विवरण सार्वजनिक गर्नुभएको हो ।

गाउँपालिकाले आगामी दिनमा आन्तरिक राजस्वको दायरा विस्तार गर्दै राजस्व संकलनलाई थप व्यवस्थित र प्रभावकारी बनाउने जनाएको छ ।

प्रकाशित मितिः   २०८३ साउन ६ at 5:42 pm 

  • कमेन्ट (Comment)