माई सस्पेन्सन टुर अफ रिखिदेव

अक्सर जिल्ला भित्रै तर सदरमुकाम भन्दा टाढा मेरो यात्रा भई नै रहन्छ, त्यो चाहे काम विशेषले होस् या घुम्नलाई। लामो समय भएको थियो खास्सै कतै निस्किन पाएको थिएन्। यो पटक भने सदरमुकाम बाहिर मात्रै नभएर जिल्ला बाहिरको यात्रा गर्ने अवसर मिल्यो। मेरो यो यात्रा सफल पर्नेमा मित्र गौरव कुमार शाहीको अहम् भूमिका रहेको छ।
लामो समय देखि घरमै बसेको थिएँ बजारको कोलाहल देखि कतै टाढा जान मन थियो । गौरव जी संग बेलाबेलामा फोनमा कुराकानी हुने गर्थ्यो। फोनमा सँधै जसो भेटेर घुम्न जाने कुरा मात्र हुनथ्यो। त्यत्तिकैमा गौरव जीको फोन आयो, म जिल्ला प्रशासन कार्यालय जुम्लामा केही कामले गएको थिएँ। मलाई भेट्न उहाँ उतै पुग्नु भयो। अनि भेटमा भन्नु भयो कतै घुम्न जाम न । उहाँले मलाई जानकारी नदिई कतै जाने योजना समेत गरिसक्नु भएको रहेछ। मलाई भने पत्तो नै थिएन।

प्रशासनको भेटमा गौरव जी संगै सुर्य ज्योति बिमा कम्पनी जुम्लका शाखा प्रमुख बुद्धी तामाङ र जुम्ला जिल्ला हिमा गाउँपालिका-२ ओदी गाउँका बुद्धिजीवि युवा धिरेन्द्र रोकाया पनि हुनुहुन्थ्यो। हाम्रो भेटमा अकस्मात घुम्न जाने योजना बन्यो। तर जाने ठाउँ भने पहिले नै फिक्स भईसकेको रहेछ।

त्यो दिन गौरव जी आफ्नो गाडीमा हिमा गाउँपालिका (जहाँ उहाँको गाउँ हो) निस्कनु भयो। म, बुद्धी दाई र धिरेन्द्र जी भोलि पल्ट बिहानै मोटरसाईकलमा हिमा तर्फ लाग्यौं। हिमा गाउँपालिकामा अवस्थित भुगलपाटा पुग्दा हाम्रो यात्रामा एक जना अर्को व्यक्ति थपिनु भयो (त्यस्तो मलाई लाग्यो तर उहाँ पनि हामि संग जाने कुरा पहिले नै फिक्स भएको रहेछ) । उहाँ हुनुहुन्थ्यो केशर शाही (जो गौरव शाहीका साथी/ दाई हुनुहुदो रहेछ) ।

त्यो बिहान हामीले केशर शाहीको घरमा खाना खायौं । त्यति बेला सम्म हामी जाँदै गरेको ठाउँको बारेमा मलाई कुनै जानकारी थिएन । उहाँहरुले भनिराख्नु भएको थियो कि हामी जाँदै गरेको गाउँ निकै विकट छ बस्। हामी ५ जना यात्रा संगै एक जना सानी नानी पनि थिईन उनको नाम थियो दिक्षा । तिँ नानी धेरेन्द्र रोकायाको दाईकी छोरी थिईन्।
खाना पछि हामी ६ जनाले मोटरसाईकल को यात्रा गर्दै गन्तव्य तर्फ लाग्यौं। बिस्तारै बाटोमा मैले थाहँ पाएँ कि हामी जाँदै गरेको गाउँको नाम रिखिदेव हो।

नया ठाउँको अवलोकन गर्न पाईने भयो भन्दै मेरो मन भित्र भित्रै खुसीले प्रफुल्लित भईरहेको थियो। बाटोमा हामी फोटो खिच्दै टिकटक बनाउँदै रमाउँदै यात्रा गर्दै थियौँ। बाटो कच्चा र उकाले भएकाले हामी बाईकमा पनि चाँडै थाक्थ्यौँ। त्यस्तै त्यो दिन हामी रातिको करिव ६:३०/७:०० बजे तिर गाउँमा पुग्यौं। रातिको समय भएर होला खास्सै गाउँ देख्न पाएनौँ।
हामी संगै गएकी सानी नानी दिक्षाको गाउँ पनि त्यहि नै हो। त्यो रात हामी दिक्षाको घरमा बस्यौँ। हामी घरमा पुग्ने बित्तिकै दिक्षाको बाबाले टिका लगाई हामीलाई स्वागत गर्नु भयो। त्यहाँको स्थानिय खानाको स्वाद(मह, गौँको रोटी, आलु आदि) चाख्यौं।
उक्त गाउँमा पुगिसक्दा समेत मलाई लागेको थियो कि हामी घुम्न गएका हौं। भोलि बिहान उठेर हामीले गाउँ हेर्यौं, त्यो गाउँको सुन्दरता अझै मेरो आँखामा छापिएको छ।
अचानक भोलि पल्टको दिन एकाएक गौरव जीले भन्नु भयो गाउँको स्कुलमा जाम। मैले सोधें किन? उहाँले भन्नुभयो विधालयमा अध्ययनरत स-साना विधार्थीहरु छन्। उनिहरुका लागि सुईटर ल्याएको छुँ। मले चकित पर्दै सोधें, मलाई अहिलेसम्म किन नभन्नु भएको त अनि सुईटर कसले स्पोन्सर गरेको हो कुनै अन्य संस्था वा तपाईको अफिसबाट । उहाँले भन्नुभयो मैले आफ्नै तर्फबाट वितरण गर्ने सोचेको
थिएँ त्यही ल्याएको छु गएर बाँडौला।आज मात्र होईन गौरव जी संग पहिले पनि यस्ता समाजसेवा मूलक कार्यक्रममा म उपस्थित भएको छु । गौरवका यस्तै क्रियाकलापले हो उनि मलाई राम्रो लाग्ने ।
उक्त कुराकानी पश्चात घुम्न भनेर गरेको यात्राले मलाई अझ धेरै खुशी बनायो । विधालयमा हामीलाई फुल मालाले स्वागत गरियो। गौरवजीले ल्याएका सुईटर विधार्थीहरुलाई लगाईदियौँ। सुईटर पाए पश्चात उनिहरुको अनुहारमा बेग्लै खुसी थियो।
हामीलाई आफ्नै गरमा बसाल्नु हुने दाईको नाम जय बहादुर रोकाया हो। उनि दिक्षाका बुवा र धिरेन्द्र रोकायाका आफ्नै दाई हुनुहुन्छ । जयबहादुर दाई लगायत रिखिदेव गाउँका सबै गाउँलेहरुले हामीलाई गरेको स्वागत र सम्मान निकै यादगार रह्यो ‌।
उक्त गाउँका बारेमा मलाई त्यहीका स्थानीय जो हामी संगै गएका थिए धिरेन्द्र रोकायाले थुप्रै बताएका छन्। त्यो गाउँको कहानी अझ बेग्लै छ । त्यो कहानी अर्को भागमा।

प्रकाशित मितिः   २०८२ कार्तिक २८ at 6:49 pm 

  • कमेन्ट (Comment)