वडा कार्यालयको शिलालेखमा उपाध्यक्षको नाम नराखिएको विषयमा प्रश्न

जुम्लाको हिमा गाउँपालिका ७ को नवनिर्मित वडा कार्यालय भवनको शिलालेखमा गाउँपालिका उपाध्यक्ष सुपर्णा शाहीको नाम उल्लेख नगरिएको विषयलाई लिएर स्थानीयस्तरमा विवाद सुरु भएको छ। गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर शाहीले भवनको उद्घाटन गरेपछि सार्वजनिक गरिएको शिलालेखमा वडा अध्यक्ष तथा वडा सदस्यहरूको नाम समावेश गरिएको भए पनि निर्वाचित गाउँपालिका उपाध्यक्षको नाम नराखिएको भन्दै स्थानीयले आपत्ति जनाएका छन् ।

हिमा गाउँपालिकाकै युवा मनोज शाहीलगायतले सामाजिक सञ्जालमार्फत यस विषयमा प्रश्न उठाउँदै स्थानीय तहको निर्वाचित जनप्रतिनिधिको सम्मान र संस्थागत मर्यादामाथि प्रश्न खडा भएको बताएका छन्। उनीहरूले शिलालेखमा उपाध्यक्षको नाम छुट्नु सामान्य त्रुटि हो वा नियोजित निर्णय हो भन्ने विषयमा गाउँपालिकाले स्पष्ट पार्नुपर्ने माग गरेका छन् ।

स्थानीयका अनुसार हिमा गाउँपालिकामा यसअघि पनि उपाध्यक्षलाई बजेट विनियोजनका विषयमा असहज अवस्था सिर्जना भएको र उनले पाउने अधिकार तथा भूमिकालाई लिएर विवाद हुने गरेको चर्चा छ । त्यसैले शिलालेखबाट समेत उपाध्यक्षको नाम हटाइएको घटनालाई धेरैले सोही शृङ्खलाको रूपमा हेरेका छन् ।

यस विषयमा गाउँपालिकाको आधिकारिक धारणा प्राप्त हुन सकेको छैन । उपाध्यक्ष सुपर्णा शाहीसँग प्रतिक्रिया लिन पटक-पटक फोन सम्पर्कको प्रयास गरिए पनि समाचार तयार पार्दासम्म सम्पर्क हुन सकेन। गाउँपालिकाका अन्य जिम्मेवार पदाधिकारीको प्रतिक्रिया आउन बाँकी रहेको छ ।

प्रकाशित मितिः   २०८३ साउन २० at 10:42 pm 

  • कमेन्ट (Comment)