गुठीचौर गाउँपालिकाको २३औँ गाउँसभा पालिकाकी कार्यवाहक अध्य शान्ति मल्ल भण्डारीको अध्यक्षतामा सुरु

गुठीचौर गाउँपालिकाको २३औँ गाउँसभा कार्यबाहक अध्यक्ष शान्ति मल्ल भण्डारीको अध्यक्षतामा सुरु भएको छ।

गाउँपालिकाका निर्वाचित अध्यक्ष दानबहादुर बुढाले नेपाली कांग्रेस परित्याग गरी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेपछि उनको पद स्वतः रिक्त भएको हो।

निर्वाचन आयोगले सूचना जारी गर्दै बुढा निर्वाचित भएको गाउँपालिका अध्यक्ष पद रिक्त भएको जानकारी दिएको थियो।

अध्यक्ष पद रिक्त भएपछि गाउँपालिकाको कार्यबाहक नेतृत्व उपाध्यक्षसमेत रहेकी शान्ति मल्ल भण्डारीले सम्हाल्दै आएकी छन्।

सोही क्रममा २३औँ गाउँसभा पनि भण्डारीको अध्यक्षतामा सञ्चालन गरिएको गाउँपालिकाले जनाएको छ।

गाउँसभामा आगामी आर्थिक वर्षका लागि गाउँपालिकाको नीति तथा कार्यक्रम प्रस्तुत गरिएको थियो। नीति तथा कार्यक्रम कार्यपालिका सदस्य देउरामा नुपालीले सभामा वाचन गरेकी थिइन्।

कार्यक्रमको सञ्चालन प्रमुख प्रशासकीय अधिकृत टेकबहादुर बुढथापाले गरेका थिए। गाउँसभामा जनप्रतिनिधि, कर्मचारी, राजनीतिक दलका प्रतिनिधि तथा सरोकारवालाहरूको सहभागिता रहेको थियो।

गाउँसभामार्फत आगामी आर्थिक वर्षका विकास योजना, सेवा प्रवाह सुधार, पूर्वाधार निर्माण, कृषि, शिक्षा, स्वास्थ्य तथा अन्य प्राथमिकताका विषयमा छलफल तथा निर्णय गरिने गाउँपालिकाले जनाएको छ।

प्रकाशित मितिः   २०८३ असार ९ at 5:03 pm 

  • कमेन्ट (Comment)