जुम्लामा नेपाली चलचित्र ‘लालीबजार’ को च्यारिटी सो आयोजना हुने भएको छ। षट्कोण आर्ट्सको निर्माणमा बनेको चलचित्रको च्यारिटी सो भाद्र ९ गतेदेखि जुम्लामा सञ्चालन हुने आयोजकले जनाएको छ।
यसअघि चलचित्रको प्रिमियर सो आज बिहान ११ बजे जुम्ला उद्योग वाणिज्य संघको हलमा हुँदैछ। प्रिमियर सोमा स्थानीय चलचित्रप्रेमी तथा दर्शकको सहभागिता रहने अपेक्षा गरिएको छ।
निर्देशक तथा पटकथाकार यम थापाको कथामा आधारित ‘लालीबजार’ले बादी समुदायको सामाजिक परिवेशलाई कथाको मुख्य आधार बनाएको छ। चलचित्रमा आमा–छोरीको सम्बन्ध, जीवन संघर्ष र समाजमा विद्यमान यथार्थलाई प्रस्तुत गरिएको निर्माण पक्षले जनाएको छ।
चलचित्रमा स्वस्तिमा खड्का, रवीन्द्रसिंह बानियाँ, समाइरा थापा, अभय बराल, मुकुन्दकुमार श्रेष्ठ, प्रेम पाण्डे, आशा पौडेल र गोविन्द सुनारलगायत कलाकारको अभिनय रहेको छ। स्वस्तिमा खड्काले चलचित्रमा बादी महिला ‘मधुवाला’ को भूमिका निर्वाह गरेकी छन्।
भाद्र ९ गतेदेखि हुने च्यारिटी सोमार्फत जुम्लाका दर्शकले चलचित्र हेर्न पाउनेछन्। सामाजिक विषयवस्तुमा आधारित नेपाली चलचित्रलाई स्थानीय दर्शकमाझ पुर्याउने र चलचित्रप्रतिको रुचि बढाउने उद्देश्यले च्यारिटी सो आयोजना गरिएको बताइएको छ।
चलचित्रका कलाकार गोविन्द सुनारले जुम्लावासीलाई च्यारिटी सोमा सहभागी भएर चलचित्र हेर्न तथा कार्यक्रमलाई सफल बनाउन आग्रह गरेका छन्। आयोजकले स्थानीय दर्शकलाई चलचित्र हेरेर नेपाली चलचित्रलाई प्रोत्साहन गर्न समेत अपिल गरेको छ।











कनका खबर । २०८३ भाद्र ९