भौगोलिक र प्राविधिक कठिनाइका कारण सुरुङभित्रको उद्धार कार्य चुनौतीपूर्ण बनेको प्रधानमन्त्री शाहको भनाइ

रसुवाको भोटेकोशीमा आएको बाढीले जलविद्युत् आयोजनाका सुरुङभित्र नागरिक फसेपछि उद्धारमा भएको ढिलाइलाई लिएर सरकार र प्रतिपक्षबीच संसद्मा बुधवार सवाल–जवाफ भएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले बाढीसँगै सुरुङमा पसेको लेदो र माटाले बाटो पूरै थुनिएकाले उद्धार प्राविधिक रूपमा निकै जटिल बनेको बताउनुभयो भने प्रतिपक्षी दलहरूले त्यसलाई सरकारको कमजोरीका रूपमा चित्रण गर्दै उद्धारमा भएको ढिलाइ अमानवीय र गम्भीर विषय भएको आरोप लगाउनुभयो ।

प्रधानमन्त्री शाहले सुरुङभित्र स्काभेटर समेत अडिन नसक्ने र हेलिकप्टर अवतरण गर्न कठिन रहेको बताउ“दै नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी उद्धारमा खटिएको तथा भारत, चीन र कोरियाका प्राविधिक टोलीसँग समेत समन्वय भइरहेको जानकारी दिनुभयो । तर कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बे, नेकपा (एमाले)का संसदीय दलका नेता रामबहादुर थापा, नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, श्रम संस्कृति पार्टीका नेता राजेन्द्र राईले र राप्रपाका संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले सरकारले विपत्तिका वेला सबैलाई विश्वासमा लिएर अघि बढ्न नसकेको भन्दै सरकारको कार्यशैलीको आलोचना गर्नुभयो।
नेता आङ्देम्बेले विपद्को सामना गर्न सरकार सक्रिय देखिए पनि प्रदेश, स्थानीय तह, निजी क्षेत्र र आवश्यक परे अन्तर्राष्ट्रिय दक्ष टोलीसमेतलाई प्रभावकारी रूपमा परिचालन गर्न नसकेको बताउनुभयो। सुरुङभित्र फसेका नागरिकको खोज तथा उद्धारमा भएको ढिलाइलाई उहा“ले अमानवीय र गम्भीर विषयको संज्ञा दि“दै अझै हजारौँ नागरिक सम्पर्कविहीन रहेको अवस्थामा सरकार तत्काल खोज, उद्धार र राहतमा केन्द्रित हुनुपर्ने बताउनुभयो। उहाँले भन्नुभयो– ‘विपद्मा सरकारको साथमा रहने भए पनि सरकारले समन्वय गर्न सकेको छैन । उद्धार कार्यमा गम्भीर भएको देखिएन।’ सरकार फेसबुकमा अल्झिएको भन्दै समन्वय गरेर र सबैको साथ लिएर काम गर्न नसकेको पनि नेता आङदेम्बेको भनाइ रहेको छ।

प्रकाशित मितिः   २०८३ भाद्र १८ at 9:55 am 

  • कमेन्ट (Comment)