रविको मधेश यात्रा तालिका बनाउँदै रास्वपा, ७ जिल्ला र प्रदेशको अधिवेशन गराउने

रास्वपाले पहिलो महाधिवेशन गरिसक्दा पनि मधेश अधिवेशन बाँकी छ । त्यसैले मंगलबार पार्टीका नेताहरु मधेशका ७ जिल्लाको अधिवेशन तिथि अनि सभापति रवि लामिछानेको ती जिल्लाहरूमा भ्रमणको तालिका बनाउन पार्टी मुख्यालय चमतीमा खटिए ।
यसको संयोजन गरेका थिए सहमहामन्त्री पुरुषोत्तम यादवले । पार्टी स्रोतका अनुसार हिजो मंगलबारै ती जिल्लाहरूको अधिवेशन तथा सभापतिको यात्राबारे टुंगो लाग्ने भनिएपनि मिति सार्वजनिक गरिएको छैन।
पार्टी सदस्यता र प्रतिनिधि विवादले मधेशका ७ जिल्ला र प्रदेश समितिको अधिवेशन नै नगरी रास्वपा केन्द्रीय महाधिवेशनमा होमिएको थियो ।
त्यतिबेला पर्साको अधिवेशन भएर हरि पन्तको नेतृत्वमा नयाँ समिति बन्यो । तर बारा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सिरहा र सप्तरीमा जिल्ला अधिवेशन हुन सकेन ।
नेताहरूले यी जिल्लामा अधिवेशन हुन नसक्नुमा नेतृत्व चयनमा गुटबन्दी, सांसदहरूको हस्तक्षेपलगायत विषयलाई कारण देखाउँदै आएका छन् । पार्टीका पुराना कार्यकर्ता र चुनावअघि प्रवेश गरेका व्यक्तिहरूबीच नेतृत्वको लागि हानथाप अधिवेशन स्थगित गर्नुको अर्को कारण रहेको नेताहरूले बताएका छन् ।
मधेश प्रदेशका सभापति तपेश्वर यादव चुनावअघि अन्य दलबाट रास्वपामा प्रवेश गर्नेको लहर आएकोले व्यवस्थापन गर्न समस्या भएको बताउँछन् । उनी भन्छन्, ‘पहिला फरकफरक दलमा रहेर प्रतिस्पर्धा गर्नेहरू अहिले एउटै पार्टीमा आएका छन् । अन्य दलबाट रास्वपामा आएर एक अर्कासँग लड्नुपर्दा नेतृत्वका लागि खिचातानी भएको हो ।’
नेतृत्वका लागि तँछाडमछाड हुँदा कतिपय स्थानमा हात हालाहालको अवस्थासमेत भएको थियो । प्रदेश सभापति यादवका अनुसार मधेशका १३६ पालिकामध्ये १० देखि १५ वटा पालिकाको अधिवेशन हुन सकेको छैन । अधिवेशन हुन नसकेका पालिकामा तदर्थ समिति भने गठन भएको उनले जानकारी दिए ।
जनसंख्याको ठूलो हिस्सा रहेको मधेशमा अधिवेशन हुन नसकेपछि पार्टी केन्द्रले अग्रसरता लिएको छ । सभापति रवि लामिछाने स्वयंले मधेश प्रदेशका जिल्लाहरू भ्रमण गरी अधिवेशनको वातावरण बनाउने बताएका छन् ।

प्रकाशित मितिः   २०८३ भाद्र १० at 8:33 am 

  • कमेन्ट (Comment)