जीप दुर्घटनामा तीन जना घाइते

अदानचुली गाउँपालिका-५ करगईबाट श्रीनगरतर्फ आउँदै गरेको बोलेरो जीप अदानचुली गाउँपालिका-४ लौठीस्थित बाइकोट उकालोमा दुर्घटना हुँदा तीन जना घाइते भएका छन् ।
मंगलबार भे १ च १६८५ नम्बरको बोलेरो जीप अदानचुली-४ लौठीको बाइकोट उकालोमा दुर्घटना भएको हो । जीपमा पाँच जना सवार रहेको र तीन जना घाइते भएको गल्फागाड प्रहरी चौकी श्रीनगरका हवल्दार मानबहादुर अधिकारीले जानकारी दिनुभयो ।
दुर्घटनामा अदानचुली गाउँपालिका-५ की २३ वर्षीया बिमला शाही, सोही वडाकी ३५ वर्षीया कालु छत्याल र जीप चालक चंखेली गाउँपालिका-३ का उज्वल बुढा घाइते भएका छन् ।
चालक बुढाको खुट्टामा चोट लागेको प्रहरीले जनाएको छ। घाइतेमध्ये बिमला शाहीको बायाँ हात भाँचिएको छ भने कालु छत्यालको टाउकोमा चोट लागेको छ । उहाँहरूको अहिले श्रीनगर स्वास्थ्य चौकीमा उपचार भइरहेको छ।
प्रहरीका अनुसार जीप उकालोबाट ओरालो झर्ने क्रममा सडकमा नै पल्टिएको थियो । दुर्घटनामा जीपको अगाडिको भाग तथा बायाँ साइडको सिसामा क्षति पुगेको छ।

प्रकाशित मितिः   २०८३ साउन २६ at 2:47 pm 

  • कमेन्ट (Comment)