कर्णाली प्रदेशको विकासमा सहयोग पुर्याउँदै, कृषि विकास बैंक लिमिटेड केन्द्रीय कार्यालयले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (CSR) कार्यक्रम अन्तर्गत कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्लालाई ८ लाख रुपैयाँको चेक हस्तान्तरण गरेको छ। उक्त सहयोग दीक्षान्त समारोह र अन्तर मेडिकल कलेज खेलकुद प्रतियोगिताका लागि प्रदान गरिएको हो।
आज आयोजित एक औपचारिक कार्यक्रममार्फत चेक हस्तान्तरण गरिएको थियो। यस अवसरमा प्रतिष्ठानका रजिस्टार निर्पेन्द्र महतले बैंकले गरेको सहयोगप्रति कृतज्ञता व्यक्त गर्दै यसले बैंक र प्रतिष्ठानबीचको सम्बन्ध अझ प्रगाढ बनाउने बताए। उनले प्रतिष्ठानको सबै कारोबार कृषि विकास बैंकसँग जोडिएको उल्लेख गर्दै सहयोगको लागि धन्यवाद पनि व्यक्त गरे।
कार्यक्रममा प्रमुख अतिथि तथा प्रतिष्ठानका रेक्टर डबल बहादुर धामीले पनि बैंकलाई आगामी दिनमा निरन्तर सहयोगको आशा व्यक्त गरे। धामीले २८ गते हुने दीक्षान्त समारोहमा सहयोग गर्न पाउँदा गर्वको अनुभूति भएको र बैंकको उदारता प्रति प्रतिष्ठान हर्षित रहेको बताए।
कार्यक्रमको अध्यक्षता गरेका कृषि विकास बैंक लिमिटेड कर्णाली प्रदेश प्रमुख सुरोज टन्डनले कर्णाली प्रदेशको स्वास्थ्य र शिक्षाजस्ता क्षेत्रहरूमा सहयोग गर्ने बैंकको प्राथमिकता रहेको बताए। टन्डनले बैंकको समाजिक उत्तरदायित्व अन्तर्गत दुर्गम क्षेत्रका शैक्षिक तथा स्वास्थ्य संस्थाहरूलाई सहयोग गर्ने अवसर पाउँदा आफूलाई खुशी लागेको जनाए। साथै, अन्य बैंक तथा वित्तीय संस्थाहरूलाई पनि कर्णाली जस्ता दुर्गम क्षेत्रमा सहयोग गर्न आह्वान गरे।
बैंक र प्रतिष्ठानबीचको यो सहकार्यले कर्णाली क्षेत्रको स्वास्थ्य तथा शैक्षिक सुधारमा सकारात्मक योगदान पुर्याउने विश्वास गरिएको छ।
प्रकाश उपाध्याय । २०८१ कार्तिक ११