मुगुमा विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग 


 मुगु, पुस २४

मुगु जिल्लामा लामो समयदेखि सक्रिय गैरसरकारी संस्था कर्णाली ग्रामीण उत्थान तथा समाज विकास केन्द्र (सीडीएस-पार्क) ले छायाँनाथ रारा नगरपालिका वडा नम्बर १३ लहमा रहेका विद्यार्थीलाई शैक्षिक सामग्री प्रदान गरेको छ। मस्टा आधारभूत विद्यालयमा अध्ययनरत ४५ जना विद्यार्थीहरूलाई स्टेशनरी र खेलकुद सामग्री सहयोग गरिएको हो।

बिकट र पिछडिएको यस बस्तीका विद्यार्थीहरूको शैक्षिक उपलब्धिमा सकारात्मक प्रभाव पार्ने उद्देश्यले उक्त सहयोग गरिएको संस्थाले जनाएको छ। सहयोग सामग्रीमा कलम, कापी, स्केच, रंगिन पेनलगायतका स्टेशनरी सामानहरू तथा विभिन्न खेलकुद सामग्रीहरू समावेश गरिएको थियो।

विद्यालयका शिक्षकहरूका अनुसार उक्त सामग्रीले विद्यार्थीहरूको सिकाइ प्रक्रियामा थप सहजता ल्याउने अपेक्षा गरिएको छ। ग्रामीण क्षेत्रमा अध्ययनरत विद्यार्थीहरूको शैक्षिक गुणस्तर सुधारका लागि यस्ता सहयोगले महत्वपूर्ण भूमिका खेल्ने विश्वास विद्यालय व्यवस्थापन समितिले व्यक्त गरेको छ।

सीडीएस-पार्कका संस्थापक कार्यकारी निर्देशक अजबहादुर शाहीले आगामी दिनमा पनि यस्ता दुर्गम तथा पिछडिएका क्षेत्रमा सहयोग कार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले ग्रामीण क्षेत्रका विद्यालयहरूमा शैक्षिक सामाग्रीको अभावका कारण विद्यार्थीहरू सिकाइबाट वञ्चित हुने अवस्थामा सहयोगले सकारात्मक परिवर्तन ल्याउने बताउनुभयो।

यसअघि पनि सीडीएस-पार्कले जिल्लाका विभिन्न दुर्गम क्षेत्रमा स्वास्थ्य, शिक्षा, र जीविकोपार्जन सुधारका क्षेत्रमा काम गर्दै आएको छ। स्थानीय समुदायका समस्यामा लक्षित कार्यक्रम सञ्चालन गरेर संस्थाले प्रभावकारी नतिजा प्राप्त गरेको छ।

विद्यार्थीहरू र अभिभावकहरूले संस्थाको यो पहलप्रति कृतज्ञता व्यक्त गर्दै शिक्षामा थप ध्यान दिन प्रेरणा मिलेको प्रतिक्रिया दिएका छन्।

प्रकाशित मितिः   २०८१ पुष २४ at 11:40 am 

  • कमेन्ट (Comment)