
मुगु
छायाँनाथ रारा नगरपालिका कोटस्थित श्री नेपाल राष्ट्रिय आधारभूत विद्यालयले आफ्नो ५६औँ वार्षिकोत्सव विभिन्न शैक्षिक तथा खेलकुद कार्यक्रमसहित भव्य रूपमा मनाएको छ ।
वार्षिकोत्सवका अवसरमा विद्यालयले अन्तरविद्यालय खुला हाजिरजवाफ प्रतियोगिता, हिसाब दौड तथा १५ सय मिटर दौड आयोजना गरी विजयी विद्यार्थीहरूलाई पुरस्कार वितरण गरेको हो।
कार्यक्रममा बोल्ने वक्ताहरूले विद्यालय सबैको साझा थलो भएकाले राजनीतिभन्दा गुणस्तरीय शिक्षामा प्राथमिकता दिनुपर्ने बताएका छन्। साथै, अभिभावकहरू सचेत भई आफ्ना नानीबाबुहरूको पठन पाठनमा ध्यान दिनुपर्नेमा जोड दिएका छन् ।
कार्यक्रमका प्रमुख अतिथि छायाँनाथ रारा नगरपालिका वडा नं. १० का वडा अध्यक्ष हस्तबहादुर बुढा रहेका थिए । सभाअध्यक्ष निवर्तमान अध्यक्ष गोवर्धन सेजुवाल थिए भने विशिष्ट अतिथि कृष्णबहादुर सेजुवाल र रुन सेजुवाल रहेका थिए। कार्यक्रममा विद्यालयका प्रधानाध्यापक कृष्णबहादुर भाम, शिक्षक अभिभावक संघका सल्लाहकार रतनबहादुर सेजुवाल, सहायक प्रधानाध्यापक धनचन्द्र बुढालगायतले धारणा राखेका थिए ।
प्रतियोगिता तर्फ अन्तरविद्यालय खुला हाजिरजवाफमा प्रथम स्थान श्री सरस्वती आधारभूत विद्यालय, लुम्स, द्वितीय स्थान श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय, शोभा र तृतीय स्थान श्री नेपाल राष्ट्रिय आधारभूत विद्यालय, घट्टलेखले हासिल गरेका छन् ।
त्यसैगरी, हिसाब दौडमा प्रथम स्थान श्री नेपाल राष्ट्रिय आधारभूत विद्यालय, घट्टलेख कोट, द्वितीय स्थान प्रभात माध्यमिक विद्यालय, रोबा र तृतीय स्थान श्री सरस्वती आधारभूत विद्यालय, लुम्सले प्राप्त गरेका छन् ।
१५०० मिटर दौडतर्फ प्रथम स्थान श्री नेपाल राष्ट्रिय आधारभूत विद्यालय, घट्टलेख, द्वितीय स्थान श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय, शोभा र तृतीय स्थान श्री सरस्वती आधारभूत विद्यालय, लुम्सले हासिल गरेका छन् ।
कार्यक्रममा सहभागी तथा विजयी विद्यार्थीहरूलाई पुरस्कार र प्रमाणपत्र प्रदान गरी सम्मान गरिएको विद्यालयले जनाएको छ ।











मोहन शाही । २०८२ पुष १५