नेपाल–चीन सीमा क्षेत्रमा रहेका सम्भावित हिमतालबाट हुनसक्ने जोखिम न्यूनीकरणका लागि चिनियाँ भू-भागमा रहेका पाँच वटा हिमतालको प्राविधिक अध्ययन गर्न दुवै देशका स्थानीय अधिकारीले पहल गर्ने सहमति गरेका छन्।
चीनको ताक्लाकोटमा हालै भएको छलफलमा हिमतालबाट नेपालतर्फ पर्नसक्ने जोखिम, सीमा व्यवस्थापन, व्यापार तथा पूर्वाधारलगायतका विषयमा छलफल भएको हो । छलफलमा चिनियाँ हिमाल क्षेत्रमा रहेका हिमतालको अवस्थाबारे प्राविधिक टोलीमार्फत अध्ययन गराउन आ–आफ्नो संघीय सरकारसँग पहल गर्ने सहमति भएको हुम्लाका प्रमुख जिल्ला अधिकारी भोलानाथ गुरागाईंले जानकारी दिए ।
उनका अनुसार सम्भावित हिमताल विस्फोट वा अन्य प्राकृतिक जोखिमका कारण हुम्लाको हिल्सा, किटलगायत सीमा क्षेत्र प्रभावित हुनसक्ने भएकाले हिमतालको अवस्था, पानीको मात्रा, जोखिमको सम्भावना र त्यसबाट पर्नसक्ने प्रभावबारे प्राविधिक अध्ययन आवश्यक रहेको विषय उठाइएको थियो।











कनका खबर । २०८३ असोज ५