कनका खबरले विद्यालय सुधारका लागि निरन्तर अभियान चलाइरहेको छ । सामुदायिक विद्यालय राम्रो बनाउने यो अभियानले निम्न आयस्रोत भएका नागरिकलाई सुलभ शिक्षाको पहुँचमा पुगाउने विश्वास गरिएको छ । हिमा आधारभूत विद्यालयका प्रधानाध्यापक महेश रावलसँग कनका खबरका लागि विक्रम तिरुवन ‘सलिन’ले गरेको कुराकानीको सम्पादित अंश यहाँ प्रस्तुत छ।
सामुदायिक विद्यालयमा गुणस्तरीय पढाई हुँदैन भन्ने व्यापक हल्ला छ के यो साँच्चिकै हो त?
सामुदायिक विद्यालयमा गुणस्तरीय पढाई हुँदैन भन्ने भाष्य छ। यो आज भन्दा पहिलाको होला जस्तो लाग्छ। आज पनि कैयौं यस्ता विद्यालय छन् जुन पढाईमा अब्बल हुँदै गइरहेका छन्। तर हाम्रो मानसपटलमा खाली सामुदायिक विद्यालयमा पढाई हुँदैन भन्ने त्यो भ्रम परिरहेकोले यो अवस्था आएको हो।
अनि अर्को कारण हाम्रा अधिकांश सामुदायिक विद्यालयमा दरबन्दी अनुरुप शिक्षक नहुनुले पनि सामुदायिक विद्यालयमा पढाई कम हुने गरेको देखिन्छ। मेरो विचारमा शिक्षक पेशा जागिर नभई जिम्मेवारी भएको हुँदा यो पेशा अन्य भन्दा फरक भएकोले पुरै निष्ठाका साथ लाग्ने शिक्षक भएमा सामुदायिक विद्यालयको पढाईमा गुणस्तरीय शिक्षा दिएमा यो पढाई हुदैन भन्ने हल्ला हटाउन सकिन्छ ।
सामुदायिक विद्यालयमा विभिन्न राजनैतिक हस्तक्षेप हुन्छ यो के कारण भइरहेको छ ?
पक्कै पनि हाम्रा प्रत्येक सामुदायिक विद्यालयमा राजनैतिक हस्तक्षेप हुने गरेको देखिन्छ । जसले गर्दा पुरै विद्यालयको शैक्षिक वातावरण नै ध्वस्त भएका छन् । विद्यालय बाँडिएका छन् । अभिभावकले विद्यार्थी बाँड्ने गरेका उदाहरण हाम्रै सामु छर्लङ्ग छन् । सामुदायिक विद्यालयमा हुने गरेको विद्यालय व्यवस्थापन समिति गठन प्रक्रिया होस् या कुनै शिक्षक सरुवा वा भर्ना गर्ने होस सबैले राजनैतिक शक्तिको प्रत्यक्ष प्रर्दशन गर्ने गरेकै छन् । जसको मारमा अभिभावक तथा विद्यार्थी पर्ने गरेका छन् । यसरी बुझदै जाने हो भने जुन विद्यालय सफल भएका छन् ति विद्यालयको विगत र वर्तमान हेर्ने हो भने राजनैतिक हस्तक्षेप कम भएका विद्यालय पर्दछन् ।
सामुदायिक विद्यालय र निजी विद्यालय छान्नु पर्यो भने तपाईं कुन विद्यालय छान्नु हुन्छ र किन ?
म एक सामुदायिक विद्यालयमा कार्यरत शिक्षक भएको नाताले सामुदायिक विद्यालय नै रोज्छु । तर म अभिभावक भएको खण्डमा पनि सामुदायिक विद्यालय नै रोज्छु यो मेरो दावा पनि हो । म सामुदायिक विद्यालयबाट नै अध्ययन गरेर आएको हुनाले म जस्तै अन्य जनशक्ति पनि राज्यको उच्च ओहदामा पुगेका छन् । जुन सामुदायिक विद्यालयबाट नै अध्ययन गरेर आएका हुन । भलै अङ्ग्रेजीमा थोरै कमजोरी होलान् यसले सेवा प्रवाहमा खासै कुनै असर पनि पर्दैन जस्तो लाग्छ । अनि अङ्ग्रेजी एउटा भाषा न हो जुन आई परेपछि सिकिने कुरा हो ।
निजी विद्यालयले सामुदायिक विद्यालयलाई कस्तो प्रभाव पारेको छ ?
हो यो प्रश्न गजब छ । निजी विद्यालयको एउटा मात्र नारा छ हामी अङ्ग्रेजी सिकाउछौं । अङ्ग्रेजीमा अब्बल बनाउछौं । उनीहरुको यही व्यापार र अभिभावकको अङ्ग्रेजी तर्फको मोहले गर्दा सामुदायिक विद्यालय प्रभावित भएका छन् । निजीमा गरिएको सुट र टाईले अभिभावक पनि खुसी देखिन्छन् । जुन सामुदायिक विद्यालयमा त्यस्तो हुने हुँदैन । सामुदायिक विद्यालयमा अध्ययन गरेका बालबालिका निजीमा अध्ययन गर्ने बालबालिका भन्दा हरेक व्यवहारमा अब्बल हुने कुरामा म निश्चिन्त छु । यो मेरो अनुभव पनि हो । अर्को पक्ष भनेको निजीमा अध्ययन गर्ने बालबालिका अलि सम्पन्न परिवारका भएकाले उनीहरुको देखासिकीले पनि सामुदायिक विद्यालयमा अध्ययन गर्ने बालबालिकामा अभिभावकलाई हतोत्साहित गर्ने गरेका छन् ।
तपाईंको विचारमा निजी विद्यालय बन्द हुनुपर्छ वा हुनुहुँदैन ?
मेरो विचारमा निजी विद्यालय बन्द नै हुनुपर्दछ भन्ने छैन्। तर निजी विद्यालयले अहिले गरेको शिक्षाको व्यापार कम वा यसलाई बन्द गर्नुपर्दछ जस्तो लाग्छ । शिक्षा क्षेत्रलाई सेवामूलक भन्दा पनि व्यापारमुखी भएको हुँदा निजी विद्यालयलाई नियमनको दायरामा ल्याउनु पर्ने आवश्यक देख्दछु ।
तपाईं सामुदायिक विद्यालयको प्रधानाध्यापक भइरहँदा थुप्रै राम्रो काम गरेको देखेका छौं । यो कसरी सम्भव बनाउनु भयो ?
योे प्रश्नमा मैले भन्नु पर्दा एक प्रधानाध्यापकले चाह्यो भने हुने रहेछ भन्ने म मान्दछु । यो मेरो भोगाई पनि हो । मेरो विद्यालय यसरी सफल हुनुमा यहाँका समुदाय तथा अभिभावकको साथ अनि सहयोग नै हो । अझ विद्यालयका शिक्षक शिक्षिकाको पनि महत्वपूर्ण भुमिका रहेको छ । समग्रमा मेरो नेतृत्व र शिक्षक अभिभावक र विद्यार्थीको अगाध मेहेनत नै हो । जसले गर्दा यो विद्यालय सफल हुन पुग्यो । मैले खाली शिक्षण पेशालाई जागिर ठानिनँ । जिम्मेवारी ठानेँ । १० बजेदेखि ४ को समयलाई मात्र हेरिनँ । अन्य समय पनि विद्यालयलाई दिए फलस्वरुप यो प्रतिफल पाएँ ।
अन्तमा: प्रधानाध्यापकले आम समुदाय तथा शिक्षक विद्यार्थीलाई विश्वास दिन सक्नुपर्दो रहेछ विद्यालयलाई सफलताको शिखरमा लैजान कुनै बाधा अट्चन आउने रहेनछ । मेरो भोगाईले यहीँ भन्छ ।
सामुदायिक विद्यालय सुधार गर्न के गर्नु पर्ला ? कुन कुन निकायले कस्तो भूमिका खेल्न सक्छन् ?
अब सामुदायिक विद्यालय सुधार गर्न अरु निकाय भन्दा पनि पहिला स्वयंम विद्यालय र त्यहाँको प्रशासनिक निकाय क्षमतावान हुनुपर्दछ । जसले गर्दा आफूसँग भएका सिमित स्रोत साधनको सहि रुपमा परिचालन मात्र गर्न सकियो भने कम्तिमा ७० प्रतिशत विद्यालयलाई सुधार गर्ने सकिन्छ । बाँकी रहेको कामको लागि स्थानीय निकाय र अन्य निकायसँगको समन्वय पनि आवश्यक पर्दछ ।
आम समुदायले सामुदायिक विद्यालयलाई हेर्ने दृष्टिकोण कस्तो हुनु पर्दछ ?
मेरो विचारमा आम समुदायले सामुदायिक विद्यालय प्रति हेर्ने नजर अब सकारात्मक हुनुपर्दछ । किन भन्दा पहिला भन्दा हाल सामुदायिक विद्यालय कुनै पनि आधारमा असक्षम छैनन् । चाहे शिक्षकको पढाउने विधि होस या विद्यालयको भौतिक संरचना जस्ता यावत् कुराहरुले विस्तारै लय समाउदै गइरहेको अवस्था छ । तसर्थ आम समुदायले सामुदायिक विद्यालय हाम्रै निम्ति हाम्रै बालबालिकाका लागि निर्माण भएका हुन र यिनीहरुले पनि गुणस्तरीय शिक्षा दिन सक्षम छन् भन्ने दृष्टिकोण राख्नुपर्दछ । र शिक्षक तथा विद्यालयले पनि समुदायको इच्छा रुचि तथा चाहनालाई ख्याल गर्नुपर्दछ ।
तपाईंले आफ्नो विद्यालय सुधार गर्न के कस्ता अभ्यासहरु गर्नुभयो ? ति अभ्यासहरुले कस्तो परिणाम दियो ?
मेरो विद्यालयको कुरा गर्नुपर्दा यस विद्यालयमा पनि अरु विद्यालयमा हुने क्रियाकलापलाई नै निरन्तरता दिइरहेको छु । तर अलि फरक तरिकाले ती क्रियाकलाप गर्ने गरेको छु । पढाई विधिमा थोरै फरकपन हरेक पाठ अनुसार सकेसम्म शैक्षिक सामग्री अनिवार्य, बालमैत्री शिक्षण पद्धति, गीत तथा खेल विधिलाई बढि भन्दा बढि प्राथमिकता, विद्यार्थीको रुचि इच्छालाई सर्वोपरि ठानेर शिक्षण गर्ने, अतिरिक्त क्रियाकलाप, मासिक रुपमा सरसफाईमा अब्बल विद्यार्थीलाई पुरस्कृत गर्ने, नतिजा सार्वजनिकमा विद्यार्थीको सबै कार्यसञ्चयिका माथि छलफल गर्ने जस्ता कुराको भरपुर व्यवस्था गरेका छौं ।
भौतिक संरचना अन्तर्गत छापामय कक्षाकोठा, बालमैत्री बसाई व्यवस्थापन र शरित विद्यालयको अवधारणा केही विशेष अभ्यास हुन । खानेपानीको कक्षामै व्यवस्था, बालमैत्री शौचालयको व्यवस्था जस्ता कुराले विद्यालयलाई सकारात्मक परिणाम दिएको ठान्दछु । जसले गर्दा यहाँका समुदाय तथा अभिभावकले पनि विद्यालयलाई आफ्नै घर सरह संरक्षण गर्ने गरेका छन् ।
विक्रम तिरुवा 'सलिन' । २०८१ जेष्ठ १८