प्रतिष्ठानमा स्नातकोत्तर तहको पाठ्यक्रम निर्माण गर्न कार्यशाला

तस्बिर : कनका खबर

चिकित्सा विज्ञानमा स्नातकोत्तर तहसम्मको अध्यापन गराइरहेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले कार्यक्रम थप गर्नका निम्ति पाठ्यक्रम निर्माण थालेको छ।

सोमबारदेखि राजधानी काठमाडौंमा स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलको उपस्थितिमा पाठ्यक्रम निर्माण निम्ति कार्यशाला गोष्ठी चलिरहेको छ। गोष्ठी मंगलबारसम्म चल्नेछ।

गोष्ठीमा स्नातकोत्तर तहमा एमडी, एमएस र एमएस्सी अन्तर्गतका विभिन्न कार्यक्रमहरुको पाठ्यक्रम निर्माणका निम्ति कार्यशाला गोष्ठीमा छलफल भइरहेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. मंगल रावलले बताए।

उनका अनुसार प्रतिष्ठानले अब स्नातकोत्तर तहमा फर्माकोलोजी, एनाटोमी, फिजियोलोजी, प्याथोलोजी, बायोकेमेस्ट्री, माइक्रोबायोलोजी, फरेन्सिक मेडिसिन लगायतका कार्यक्रमका निम्ति कार्यशाला गोष्ठीको आयोजना गरिएको थियो।

‘गोष्ठीले कर्णालीलाई स्वास्थ्य शिक्षाको आकर्षक केन्द्र बनाउने मान्डेट दिएको छ,’ उनले भने, ‘आगामी शैक्षिक सत्रमा यी कार्यक्रम संचालन गर्ने गरि लागेका छौं। परिणाम एकदम छिटो आउनेमा आशावादी छु।’

कार्यक्रमामा नेपालका अन्य विश्वविद्यालयका उपकुलपतिहरु, अनुभवी प्राध्यापकहरु र स्वास्थ्य क्षत्रका जानकारहरुको उपस्थिति रहेको प्रतिष्ठानका रजिस्ट्रार नृपेन्द्र महतले बताए।

‘नेपालका आठवटा प्रतिष्ठानहरुमध्ये एमबीबीएस अध्यापन गराउने तेस्रो नम्बरको स्वास्थ्य संस्था कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान हो,’ उनले भने, ‘हामीले यस अघि नै स्नातकोत्तर तहका विभिन्न कार्यक्रम सफलता पूर्वक संचालन गरिरहेका छौं। अब कार्यक्रम थप गर्दैछौं।’

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले यस अघि स्नातकोत्तर तहमा अर्थोपेडिक, एनेस्थेसिया, मेडिसिन, पेडिआर्टिक, जीपीको एमडी र एमपीएच तथा एमफार्म संचालन गरिररहेको छ भने अब कार्यक्रम थप गर्न लागेको उपकुलपति रावलले थपे।

उनले भने, ‘पछिल्लो समय स्वास्थ शिक्षाको केन्द्र बन्दै गएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा हाल एमबीबीएस तहको चौथो ब्याचका विद्यार्थीहरु अध्ययन गरिरहेका छन्। चौथो ब्याजदेखि हामीले एमबीबीएसमा ५० जना विद्यार्थी पढाइरहेका छौं।’

कर्णालीमा मेडिकल कलेज स्थापना गर्दा राज्यको लगानी खेर जान्छ भन्ने खालको गलत भाष्य निर्माण गरिएको कठिन परिस्थितिमा कर्णालीले चिकित्सा शिक्षामा नौलो आयाम प्रस्तुत गर्न सकेको उपकुलपति रावलको तर्क छ।

प्रतिष्ठानबाट उत्पादित चिकित्सा शिक्षाका विद्यार्थी अब्बल स्थापित हुँदै गएकोे शिक्षाध्यक्ष डा. डबल धामीले बताए।

‘नेपाल मेडिकल काउन्सिलको परिक्षामा शतप्रतिशत नतिजा दिन सकिएको छ। यसको प्रभावले पनि कर्णाली विद्यार्थीको रोजाइ बन्दैछ,’ उनले भने।

उनका अनुसार अब थपिने कार्यक्रमको पाठ्यक्रम निर्माणका निम्ति आयोजित कार्यशाला गोष्ठीको सान्दर्भिकता बढेको छ।

प्रकाशित मितिः   २०८१ साउन ७ at 6:01 pm 

  • कमेन्ट (Comment)