नेपाली काङ्ग्रेसका नेता तथा प्रदेश सांसद देवबहादुर शाहीले पार्टीभित्रका समस्याहरूलाई सही ढङ्गले पहिचान गरी समाधानको बाटोमा लैजानुपर्नेमा जोड दिनुभएको छ। बधाई तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै सांसद शाहीले विभिन्न आन्तरिक समस्याका कारण विभाजनको संघारमा पुग्ने स्थिति आउन नदिन काङ्ग्रेसलाई एकजुट बनाएर लैजानु नै अहिलेको मुख्य चुनौती रहेको बताउनुभयो।
कार्यक्रममा बोल्दै सांसद शाहीले राजनीतिमा आफ्ना कमी-कमजोरीहरूलाई सहर्ष स्वीकार्न सक्ने क्षमता हुनुपर्ने धारणा राख्नुभयो। “राजनीति भनेको एउटा युद्ध जस्तै हो, जहाँ पद क्षणिक हुन्छ। त्यसैले पदको पछि लाग्नुभन्दा इमान्दारिताका साथ जनताको सेवामा समर्पित हुनुपर्छ,” उहाँले भन्नुभयो। पार्टीभित्र नेताहरूबीच हुने घात-प्रतिघात नै फुटको मुख्य कारण बन्ने भएकाले एक-आपसमा इमान्दार हुन आग्रह गर्दै उहाँले राजनीति निस्वार्थ सेवा भएकाले नेता-कार्यकर्ताले गरेका कामहरू जनताले पत्याउने खालका हुनुपर्नेमा जोड दिनुभयो। राजनीतिमा अरूको बैशाखी बन्ने वा बनाउने परिपाटीले कहिल्यै सार्थकता नपाउने भन्दै उहाँले पद र प्रतिष्ठा कसैको खल्तीबाट निकालेर दिइने कुरा नभई समय र योगदानले निर्धारण गर्ने स्पष्ट पार्नुभयो।
सोही कार्यक्रममा नवनिर्वाचित केन्द्रीय सदस्य रामदेवी खड्कालाई बधाई तथा सम्मान ज्ञापन गरिएको थियो। कार्यक्रममा बोल्दै केन्द्रीय सदस्य खड्काले नेपाली काङ्ग्रेसभित्र अब कुनै पनि किसिमको गुट तथा उपगुट नरहने कुरालाई आत्मसात गरेर अगाडि बढ्ने प्रतिबद्धता जनाउनुभयो। केही आन्तरिक तिक्तताका कारण बनेका संस्थापन र इतर पक्षलाई समेटेर एक ढिक्का बनाएर लैजाने विशेष जिम्मेवारी आफ्नो काँधमा आएको र सोही अनुसार काम गर्ने उहाँको भनाइ थियो। उहाँले चार तारे झण्डा र रुख चिन्हमुनि सबैलाई गोलबद्ध गर्दै काङ्ग्रेसलाई बलियो र एकताबद्ध बनाएर अगाडि बढाउने बताउनुभयो।
राजनीतिलाई व्यवसाय नबनाउन नेताहरूको आह्वान
कार्यक्रममा नगर सभापति रविबहादुर थापा, प्रदेश ‘क’ का सभापति लक्ष्मण बोहोरा, पूर्व समाजवादीबाट नेपाली काङ्ग्रेसमा प्रवेश गर्नुभएका कृष्णबहादुर थापा र नेता भक्तबहादुर रोकाया लगायतले आ-आफ्नो धारणा राख्नुभएको थियो।
प्रदेश ‘क’ का सभापति लक्ष्मण बोहोराले लोकतन्त्रको रक्षा गर्ने एक मात्र भरपर्दो पार्टी नेपाली काङ्ग्रेस नै रहेको दाबी गर्दै नेपाली राजनीतिमा रूपान्तरण ल्याउनका लागि पहिला आफू स्वयं रूपान्तरित हुनुपर्ने आवश्यकता औंल्याउनुभयो।
यस्तै, नेता भक्तबहादुर रोकायाले राजनीति विशुद्ध सेवा भएकाले यसलाई व्यापार वा व्यवसायको दृष्टिले नहेर्न अनुरोध गर्नुभयो। उहाँले वर्तमान चुनौती र जिम्मेवारीलाई सँगै जोडेर लैजानुपर्ने भन्दै समग्र कर्णाली प्रदेशलाई हेर्ने दृष्टिकोणमा परिवर्तन ल्याउन पहल गरिने बताउनुभयो।
सो अवसरमा पूर्व समाजवादीका नेता कृष्णबहादुर थापाले नेपाली काङ्ग्रेसमा प्रवेश गर्नु भएकाे छ।
चारतारे झण्डा र रुखमुनि सबैलाई गोलबद्ध गर्छौँ: केन्द्रीय सदस्य खड्का











कनका खबर । २०८३ कार्तिक ९