सुर्खेतको बराहताल गाउँपालिका–५ खर्क मोडमा मिनी ट्रक र मोटरसाइकल एकआपसमा ठोक्किँदा १४ वर्षीय बालक गम्भीर घाइते भएका छन्। दुर्घटनापछि फरार भएका मिनी ट्रक चालकलाई प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार बुधबार गते अपराह्न करिब पाँच बजे दैलेखबाट सुर्खेततर्फ आउँदै गरेको कर्णाली प्रदेश ०१–००१ क ०८९२ नम्बरको मिनी ट्रक र विपरीत दिशाबाट गइरहेको भे.६ प ८७८७ नम्बरको मोटरसाइकल ठोक्किँदा दुर्घटना भएको हो।
दुर्घटनामा मोटरसाइकल चालक दैलेखको दुल्लु नगरपालिका–५ निवासी १४ वर्षीय रजत सिंह साउद गम्भीर घाइते भएका छन्। उनको शरीरका विभिन्न भागमा चोट लागेको प्रहरीले जनाएको छ।
दुर्घटनालगत्तै प्रहरीको फोर्स गाडीमार्फत रजतलाई कर्णाली केयर अस्पताल, सुर्खेत पुर्याई प्रारम्भिक उपचार गरिएको थियो। पछि थप उपचारका लागि उनलाई काठमाडौं लगिएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक (डीएसपी) कबिन्द्र सिंह बोहराले दुर्घटनापछि फरार भएका चालकलाई पक्राउ गरिएको जानकारी दिए।
‘दुर्घटनापछि फरार रहेका मिनी ट्रक चालक सन्तोष नेपालीलाई साउन २१ गते पक्राउ गरी थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय बाबियाचौर पठाइएको छ। घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान जारी छ,’ डीएसपी बोहराले बताए।
प्रहरीका अनुसार मिनी ट्रक चालक सुर्खेतको पञ्चपुरी नगरपालिका–२ पलैटे निवासी २४ वर्षीय सन्तोष नेपाली हुन्। दुर्घटनापछि उनी घटनास्थलबाट फरार भएका थिए।
प्रहरी चौकी बड्डीचौरबाट प्रहरी सहायक निरीक्षक लोकेन्द्र परियारको नेतृत्वमा खटिएको टोलीले घटनास्थलको मुचुल्का तयार गरी दुर्घटनामा संलग्न दुवै सवारीसाधन नियन्त्रणमा लिएको छ। प्रहरीले दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको जनाएको छ।
सुर्खेतमा मिनी ट्रक र मोटरसाइकल ठोक्किँदा १४ वर्षीय बालक गम्भीर घाइते, फरार चालक पक्राउ











कनका खबर । २०८३ साउन २१