१.
यो भिडदेखि तिमिलाई छुट्याउन सकिनँ मैले
एउटा सहि विकल्प समाइ छुट्याउन सकिनँ मैले
मनले आफ्नो जस्तो लाग्छ फेरि देख्छु अर्कैको साथमा
तिमी आफ्नो हौ कि पराइ छुट्याउन सकिनँ मैले।
– तुल्सी बडुवाल/सुर्खेत
२.
अप्ठ्यारोमा आफ्नै भन्नेहरू धुमिल भएर जान्छन्
मित्र बनि आउँछन् जीवनमा कुटिल भएर जान्छन्
नचाहिँदासम्म मात्र हो यो दुनियाँ सजिलो देखिने
अक्सर आफुलाई चाँहिदा मुस्किल भएर जान्छन् ।
– दिल कुमारी बुढा मगर/दाङ
३.
छिद्र परेका यी खुसि टाल्दा टाल्दै आफै थाकिसकेँ
पीडाका आँसु खसाल्दा खसाल्दै आफै थाकिसकेँ
ए जिन्दगी! यति धेरै छरपस्ट पनि नभैदेन हौ यहाँ
म त आफैँलाई समाल्दा समाल्दै आफैँ थाकिसकेँ ।
– चन्द्रा दाहाल
४.
भौतारीरहन्छ मान्छे सधै, सुखभोगले पछ्याए पनि
फेर्न खोज्छ मार्ग, सकारात्मकताले नै डोहोर्याए पनि
रहँदैन सन्तोष ऊ, हराउँछ आफ्नै कमि कमजोरीमै
छरपस्ट खुशीहरुको माझ आफूलाई उभ्याए पनि।
– सुशीला ढकाल/ओखलढुंगा
५.
म नदी हुँदा ढुङ्गा बनेर मेरै मार्ग बार्ने आफ्नै रहेछन्
मेरो जितमा दु:खका आँसुहरु झार्ने आफ्नै रहेछन्
दुश्मनले त केही समय अल्झाएर छोडेर जान्छ यहाँ
चिन्नै गाह्रो हुनेगरी अलमल्लमा पार्ने आफ्नै रहेछन्।
– कल्पना बास्तोला/ सुनसरी
काठमाडौंमा संचालित ‘फोटोमा मुक्तक प्रतियोगिता’को एक सय १७१औं शृङ्खला सम्पन्न भएको छ। फोटोमा मुक्तक प्रतियोगिता कार्यक्रम काठमाडौंका सुनिल अधिकारीद्वारा परिकल्पना गरिएको नेपाली साहित्यको मुक्तक विधालाई उन्नयन र प्रवर्द्धन गर्नको लागि सुरुवात गरिएको कार्यक्रम हो।
प्रत्येक शृङ्खलामा ५ जना मुक्तककारलाई विजेता घोषणा गर्ने गरिन्छ। तिनै विजयी पाँच जना मुक्तककारका ५ वटा मुक्तकहरु फोटोमा मुक्तक प्रतियोगिताको एक सय ६४ औं शृङ्खलाबाट कनका खबरको अनलाइन पत्रिकाबाट छपाइँदै आइएको छ।
आज एक सय ७१ औं शृङ्खलामा विजयी हुन सफल मुक्तककारका मुक्तकहरु प्रकाशित गरिएको छ। जय साहित्य, जय मुक्तक!
कनका खबर । २०८१ बैशाख ३१