जुम्लाको प्रसिद्व मन्दिर चन्दननाथ, भैरवनाथ मन्दिरको नाममा रहेको शेरा ज्युलोमा रोपाइँ सम्पन्न भएको छ।
जुम्ला सदरमुकाम खलंगाको मुटुमा रहेको चन्दननाथ मन्दिरको पछाडि शेरा जिउलोमा चन्दननाथ भैरवनाथ गुठी व्यवस्थापन समितिले रोपाइँ सम्पन्न गरेको हो।
उक्त खेतहरुमा रोपाइँ गर्नको लागि सदरमुकामका केही बस्तीका महिला, स्थानीय तहका पदाधिकारीहरु र चन्दननाथ माध्यमिक विद्यालयका विद्यार्थीहरुको सहभागिता रहेको थियोे।
जुम्लामा प्रत्येक वर्षको जेठ महिनामा रोपाइँ हुन्छ। विशेषगरी जुम्ला कालो मार्सी धानको लागि प्रख्यात मानिन्छ।
वि.स.२०३६ सालमा चन्दननाथ भैरवनाथ गुठी व्यवस्थापन समितिको गठन भएको थियो। त्यस लगत्तै मन्दिरका सम्पूर्ण क्रियाकलापहरु उक्त समितिले गर्दै आएको गुठी व्यवस्थापन समितिका अध्यक्ष अमर थापाले बताए।
‘पहिले चन्दननाथ बाबाको शेर जिउलोमा रोपाइँ भएपछि मात्र जिल्लाका अन्य ठाउँका ज्युलहरु रोपाइँ हुन्थ्यो,’ उनले भने, ‘अहिले त्यो प्रचलन हराउँदै गएको छ। पहिले रोपाइँ गर्नको लागि जिल्लाका विभिन्न ठाउँका मान्छेहरु आएर चन्दननाथ बाबाको शेर ज्युलोमा रोपाइँ गर्थे।’
मन्दिर जस्तो पवित्र स्थलमा राजनीति हस्तक्षेप हुँदा मन्दिरको चौतर्फी विकास हुन सकेको छैन। नजिकको तिर्थ हेला भने झैं चन्दननाथ मन्दिर पनि सोचे जस्तो महत्त्वपूर्ण बन्न सकेको छैन यो गम्भीर विषय हो।
चन्दननाथ गुठीको नाम रहेका थुप्रै जग्गाहरुको अतिक्रमण गरिएको समेत उनको भनाई छ।
विक्रम तिरुवा 'सलिन' । २०८१ जेष्ठ १४