सिंजामा नेपालको नक्सा निर्माणको शिलान्यास, खस राज्यको नक्सा निर्माणको तयारी पनि

 सिंजा गाउँपालिका वडा नम्बर ३ को राईके डाँडामा  नेपालको भौगोलिक नक्सा निर्माणको शिलान्यास गरिएको छ। एक विशेष समारोहका बीच प्रतिनिधिसभा सदस्य माननीय विनिता कठायतले निर्माण कार्यको शिलान्यास गरेकी हुन्।

शिलान्यास कार्यक्रममा सिंजा गाउँपालिकाका अध्यक्ष पूर्ण प्रसाद धिताल, उपाध्यक्ष सितली रोकाया, वडा अध्यक्षहरू, जनप्रतिनिधि तथा स्थानीय बासिन्दाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि सांसद कठायतले नेपालको नक्सा निर्माण मात्र नभई भविष्यमा ऐतिहासिक खस राज्यको नक्सा पनि निर्माण गरिने जानकारी दिइन्। उनले भनिन्, “भारतले महाभारतको नक्सामा नेपाल समेटेको देखिन्छ भने हामीले पनि खस राज्यको ऐतिहासिक नक्सा बनाउँदा भारतको भू–भाग समेट्दा किन नहुने?”

उक्त निर्माण कार्य सघन शहरी तथा भवन निर्माण आयोजना, जुम्लाबाट ठेक्का आव्हान गरिएको हो। आयोजनाका ईन्जिनियर चन्द्रबहादुर खड्काका अनुसार परियोजनाको अनुमानित लागत १ करोड रुपैयाँ रहेको छ। निर्माण कार्यको जिम्मा ममता निर्माण सेवाले पाएको छ।

यो परियोजना ऐतिहासिक, शैक्षिक र पर्यटकीय दृष्टिले महत्त्वपूर्ण हुने स्थानीय बासिन्दाहरूको विश्वास छ। खस राज्यको राजधानी मानिएको सिंजा क्षेत्रमा यस्तो पहल हुनु आफैँमा गौरवको विषय भएको गाउँपालिकाले जनाएको छ रारा जाने पर्यटकलाई पनि यसले आकर्षण गर्ने देखिन्छ । नक्सा निर्माणपछि क्षेत्रको पर्यटन प्रवर्द्धन र ऐतिहासिक सम्पदाको संरक्षणमा समेत टेवा पुग्ने अपेक्षा गरिएको छ।

प्रकाशित मितिः   २०८२ बैशाख ६ at 6:03 pm 

  • कमेन्ट (Comment)