अजरबैजानको बाकु शहरमा आयोजित जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय संरचना महासन्धि पक्ष राष्ट्रहरूको २९औँ सम्मेलन (कोप–२९) मा कर्णाली प्रदेशबाट सहभागी मिनबहादुर रावलले उच्च हिमाली क्षेत्रका समुदाय र युवाहरू जलवायु परिवर्तनको असरबाट सबैभन्दा बढी प्रभावित भएको बताएका छन्।
छायाँनाथ रारा नगरपालिका–४, मुगुका ३७ वर्षीय रावलले छा-याँ नोपलबाट कर्णाली प्रदेशको प्रतिनिधित्व गर्दै सम्मेलनमा नेपालको अनुभव प्रस्तुत गरेका हुन्। उनले बालविवाह र छाउपडी प्रथा न्यूनिकरणदेखि सुरु भएको आफ्नो सामाजिक अभियानलाई जलवायु अनुकूलन, शिक्षा, स्वास्थ्य, पोषण, र सुरक्षित खानेपानीका प्राथमिकतासहित अगाडि बढाएको उल्लेख गरे।
रावलका अनुसार जलवायु परिवर्तनका कारण नेपालको उच्च हिमाली क्षेत्रमा हिमपात घट्दै गएको, हिमतालहरू फुट्ने खतरामा रहेका, पानीका मुहानहरू सुक्दै गएका, र जैविक विविधता लोप हुने जोखिम बढ्दै गएको छ। “जडीबुटी लोप हुने क्रमले उच्च हिमाली क्षेत्रका युवाहरूको आयस्रोतमै असर गरेको छ,” उनले भने।
नेपालका हिमाली समुदायले भोग्दै आएका समस्याबारे जानकारी गराउँदै उनले जलवायु परिवर्तनका कारण बाढी, पहिरो, खडेरी, भारी वर्षा, र तापक्रम वृद्धिले स्वास्थ्य, शिक्षा, र दैनन्दिन जीवनमा गम्भीर असर परेको तथ्य अन्य देशका सहभागी युवामाझ प्रस्तुत गरे।
रावलले नेपालमा तापक्रम वार्षिक रूपमा ०.०५ देखि ०.०८ डिग्री सेल्सियससम्म वृद्धि भइरहेको र यसले हिमाली क्षेत्रका समुदायलाई थप जोखिममा पारेको तथ्य प्रस्तुत गरेका थिए।
कनका खबर । २०८१ कार्तिक ३०