चौथो रारा ट्रेल रनको उपाधि जुम्लाकी राज्यलक्ष्मी र मुगुका अक्कललाई

रारातालमा सुरु भएको चौथो रारा ट्रेल सेन्टरको उपाधि जुम्लाकी राज्यलक्ष्मी रावल र मुगुका अक्कल बडुवालले उचालेका छन्। पुरुषतर्फ बडुवाल र महिलातर्फ रावल विजयी बनेका हुन्।

रारातालको सौन्दर्यताको प्रचारप्रसारको लागि नेपाली सेनाले चार वर्षदेखि रारा ट्रेल रनको आयोजना गर्दै आइरहेको छ। हनुमानध्वज गुल्मका अनुसार रारा ट्रेल रनमा महिला र पुरुष गरेर १ सय ९४ जनाले सहभागिता जनाएका थिए।

एक सय ६९ जना धावकलाई पछि पार्दै छायानाथ रारा नगरपालिका-१४ का अक्कल बडुवाल पहिलो बनेका हुन्। उनले १६ किलोमिटरको दुरी एक घण्टा २ मिनेट १० सेकेण्डमा पार गरे। जुम्ला कनकासुन्दरी गाउँपालिका –३ का शेरबहादुर बुढाले १ घण्टा २ मिनेट ११ सेकेण्ड दोस्रो र कनकासुन्दरी –२ जुम्लाकै चन्द्र रावतले १ घण्टा २ मिनेट २१ सेकेण्ड लगाएर तृतीय स्थान हासिल गरेका थिए।

३५ जना धाविकालाई पछि पार्दै जुम्ला गुठिचौर गाउँपालिका– ३ गज्याङ्गकोट गाउँकी राज्यलक्ष्मी रावल प्रथम भइन्। उनले निर्धारित दुरी १ घण्टा १४ मिनेट ३३ सेकेन्डमा पार गरिन्। जुम्ला पातारासी गाउँपालिका– २ पेरेकी कल्पना बुढाले १ घण्टा १४ मिनेट ५२ सेकेण्ड द्वितीय र जुम्लाकै समिता बुढाले १ घण्टा १६ मिनेट ३१ सेकेण्ड लगाएर तेस्रो भइन्।

ट्रेल रनमा प्रथम, द्वितीय र तृतिय स्थान प्राप्त गर्ने महिला तथा पुरुषतर्फका विजेता खेलाडीहरुलाई जनही क्रमश: ५० हजार, ४० हजार, ३० हजार रुपैयाँ नगदसहित ट्रफी र प्रमाण पत्र वितरण गरिएको छ।

मुगुका प्रमुख जिल्ला अधिकारी टोपेन्द्र केसी, छायानाथ रारा नगरपालिकाका कार्यबहाक प्रमुख पदमराज मल्ल, जुम्ला हिमा गाउँपालिका अध्यक्ष लक्ष्मण शाही र नेपाली सेना उत्तर पश्चिम पृथना उपरथी कृष्णदेव भट्टले पुरस्कार, प्रमाण पत्र र ट्रफी प्रदान गरेका थिए।

रारा ट्रेल रनमा ५१ वर्षका राजाराम बुढा देखि १५ वर्षका दिपेन्द्र रावलसम्मले भाग लिएका थिए। प्रमुख जिल्ला अधिकारी केसीले रारा ट्रेल रनले कर्णाली प्राकृतिक सुन्दरताले मात्रै भरिपूर्ण नभइ खेल पर्यटनका हिसाबले पनि अनुकुल भएको सन्देश फैलाइरहेकोमा जोड दिए।

प्रकाशित मितिः   २०८१ जेष्ठ १८ at 2:04 pm 

  • कमेन्ट (Comment)