
चन्दननाथ नगरपालिकाले आर्थिक वर्ष २०८२/०८३ का लागि स्वीकृत बजेटको कार्यान्वयन तथा सेवा प्रवाह प्रभावकारी बनाउन साउन ७ गते प्रमुख प्रशासकीय अधिकृतलाई खर्च गर्ने अख्तियारी हस्तान्तरण गरेको छ । यससँगै नगर प्रमुख र प्रमुख प्रशासकीय अधिकृतबीच कार्यसम्पादन करार सम्झौता पनि भएको छ ।
नगर प्रमुखद्वारा प्रदान गरिएको खर्च अख्तियारीसँगै उक्त सम्झौताले नगरपालिकाको समग्र कार्यसञ्चालनलाई थप पारदर्शी, जवाफदेही र परिणाममुखी बनाउने उद्देश्य लिएको छ । करार सम्झौतामा उल्लेख गरिएका ३६ वटा बुँदामार्फत प्रशासनिक, आर्थिक, सामाजिक तथा सेवा प्रवाहका विविध पक्षमा जिम्मेवारी सुनिश्चित गरिएको छ ।

सम्झौतामा नगरसभाबाट पारित निर्णय र विकास आयोजनाको कार्यान्वयन प्रगति नियमितरूपमा प्रस्तुत गर्नुपर्ने, नयाँ प्रविधिको प्रयोगमार्फत सेवा छरितो बनाउने, वित्तीय सुशासन र भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नीति अवलम्बन गर्ने, कर्मचारीको क्षमता अभिवृद्धि गर्ने तथा नगरवासीप्रति उत्तरदायी हुने सेवा प्रवाह सुनिश्चित गर्नुपर्ने प्रावधानहरू समावेश छन् ।

त्यस्तै, आन्तरिक आय वृद्धिका लागि कानुनी तथा नीतिगत सुधार गरिने, स्थानीय तथ्यांक अभिलेखीकरण तथा अद्यावधिक गरिने, शिक्षा, स्वास्थ्य, कृषि, पशुपालन, पोषण, मातृशिशु सुरक्षा तथा लक्षित समूहका कार्यक्रम समयमै कार्यान्वयन गरिने उल्लेख गरिएको छ ।

नगर प्रमुख तथा नगर कार्यपालिका नेतृत्वको निर्देशनमा प्रमुख प्रशासकीय अधिकृतले सबै शाखा तथा कार्यलयलाई समन्वय गर्दै काम अघि बढाउनु पर्नेछ । कार्यालय व्यवस्थापन, लेखापरीक्षण, सूचना अद्यावधिक, वेबसाइट सञ्चालन, सार्वजनिक सुनुवाइ, सार्वजनिक जवाफदेहिता, सेवा प्रवाहको निगरानी तथा समिक्षा नियमितरूपमा गर्नुपर्नेछ ।
नागरिकमैत्री शासन प्रणाली निर्माण गर्ने लक्ष्यसहित बालमैत्री, अपाङ्गमैत्री तथा वातावरणमैत्री दृष्टिकोणमा आधारित नीति तथा कार्यक्रम कार्यान्वयन गर्ने गरी कार्ययोजना तय गरिएको छ । त्यस्तै, राजनीतिक हस्तक्षेपबाट टाढा रही सेवा केन्द्रित काम गर्न र संघीय तथा प्रदेश सरकारसँग समन्वयमा निरन्तर अद्यावधिक रहनुपर्ने पनि सम्झौतामा स्पष्ट उल्लेख छ ।
सूचना प्रविधि अधिकृत बिकल बुढथाले दिएको जानकारी अनुसार, यो कार्यसम्पादन करार सम्झौता २०८२ साउन १ गतेदेखि लागू भइसकेको छ । प्रमुख प्रशासकीय अधिकृतको सरुवा भएमा नयाँ अधिकृतले हाजिर भएको मितिदेखि यो सम्झौता स्वतः लागु हुने व्यवस्था पनि गरिएको छ ।
नगरपालिकाले सम्पादन गर्ने सबै आयोजनाहरू आगामी वैशाख मसान्तभित्र सम्पन्न गरिसक्नुपर्ने स्पष्ट प्रावधानसहित, नगर प्रमुखले नीतिअनुसार कार्य नगरेमा प्रमुख प्रशासकीय अधिकृतसँग स्पष्टिकरण माग्न सक्ने र सम्बन्धित शाखालाई आवश्यक निर्देशन दिने अधिकार सुरक्षित गरिएको छ ।
यस सम्झौता कार्यान्वयनमार्फत चन्दननाथ नगरपालिकाले सुशासन, जवाफदेहिता र प्रभावकारी सेवा प्रवाहमा नयाँ आयाम थप्ने अपेक्षा गरिएको छ ।











प्रकाश उपाध्याय । २०८२ साउन ११