गण्डकीका मन्त्री फिर्ता बोलाउने निर्णय अनुमोदन गर्दै एमाले संसदीय दल

गण्डकीमा एमाले संसदीय दलको बैठक बसेर आज सरकारमा मन्त्रीहरु फिर्ता बोलाउने निर्णय अनुमोदन गर्दैछ । मंगलबार संसदीय बोर्डको बैठक बसेर मन्त्रीहरुले राजीनामा दिने निर्णय भएको थियो । अहिले बिहान दलको बैठक बसेर समसामयिक एजेण्डामा छलफल गर्ने र सरकारबाट फिर्ता हुने विषयमा निर्णय हुने दलका पदाधिकारीहले जानकारी दिएका छन् ।
बोर्डले मंगलबार नै निर्णय गरेर उपनेता लिलबहादुर थापाको नेतृत्वमा मन्त्रीहरुले मुख्यमन्त्रीलाई भेटेर राजीनामा बुुझाउने तय भएको थियो ।

बुधबार संसदीय दलको बैठक बसेर त्यसको निर्णयपछि मात्रै सरकारबाट पछि हट्नेलगायत अन्य समसामयिक विषयमा निर्णय हुने प्रमुख सचेतक देवका पहारीको भनाइ छ । गण्डकीमा एमालेका ४ जना मन्त्री छन् ।

पछिल्लो पटक मुख्यमन्त्री पाण्डेले वैशाख २ गते मन्त्रिपरिषद् हेरफेर गरेका थिए । एमालेबाट गोविन्द नेपाली भौतिक पूर्वाधार तथा यातायात व्यवस्था, भीम कार्की भूमि व्यवस्था कृषि तथा सहकारी, यशोदा रिमाल उद्योग तथा पर्यटन र लक्ष्मण पाण्डे स्वास्थमन्त्री छन् ।

उनीहरुले आजै मुख्यमन्त्रीलाई राजीनामा बुझाउने एमाले संसदीय दलका पदाधिकारीले बताएका छन् । केन्द्रमा नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टी मिलेर जाने सहमति गरेपछि गण्डकीमा पनि ढिला गरी सरकारबाट बाहिरिन लागेको हो ।

प्रकाशित मितिः   २०८३ भाद्र १० at 7:09 am 

  • कमेन्ट (Comment)