जुम्ला गुठीचौर गाउँपालिका जुम्लाका उपाध्यक्ष शान्ति मल्ल भण्डारीले कार्यवाहक अध्यक्षको पदबहाली गरेकी छन् । गाउँपालिका अध्यक्ष दानबहादुर बढाले काँग्रेस पार्टी अर्थात दल त्याग गरी राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेपछि निर्वाचन आयोगले पद रिक्त भएको सुचना सार्वजनिक गरेको थियो ।
अध्यक्ष बुढाले पद पुनर्वहालीको माग गर्दै सर्वोच्च अदालतमा उत्प्रेरणाको रिट दायर गरेका थिए । सर्वाेच्च अदालतले साउन १२ गते उत्प्रेषण रिट खारेजीको फैसला गरेको थियो । अध्यक्ष पदको पुनर्वहालीको रिट सर्वाेच्च अदालतले खारेज गरेपछि उपाध्यक्ष भण्डारीले साउन १५ गते कार्यवाहक अध्यक्षको पदबहाली गरेकी हुन् ।
निर्वाचन आयोग र नेपाली कांग्रेससमेतलाई विपक्षी बनाएर मुद्दा दर्ता गराएका बुढाको रिट अदालतबाट खारेज भएसँगै अध्यक्ष पद रिक्त सम्बन्धी निर्णय कायम रहने भएको छ । दोस्रो स्थानीय तहको निर्वाचन ०७९ मा नेपाली कांग्रेसबाट गुठीचौर गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएका थिए ।
असार ९ गते निर्वाचन आयोगले अध्यक्ष बुढाले दल त्यागेको र पद रिक्त भएको सूचना सार्वजनिक गरेसँगै उनी पदमुक्त भएका थिए । अध्यक्ष बुढा यसअघि रास्वापा प्रवेशपछि नेपाली कांग्रेस जिल्ला समितिले कारबाहीको सिफारिस गरेको थियो । कारबाही सिफारिस भएपछि कांग्रेस केन्द्रीय समितिले अध्यक्ष बुढाले दल त्याग गरेको र रास्वापा प्रवेश गरेको निर्णय निर्वाचन आयोगमा बुझाएको थियो ।
निर्वाचन आयोगले सोमबार एक सूचना जारी गर्दै राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ३२ को उपदफा (१) र राजनीतिक दलसम्बन्धी नियमावली, २०७४ को नियम २२ बमोजिम दल त्याग गरेको व्यहोराको जानकारी प्राप्त भएपछि आयोगको मिति ०८३÷३÷८ गतेको निर्णयअनुसार गुठीचौरका अध्यक्ष बुढाको पद स्वतः रिक्त भएको हो जनाएको थियो ।
०७९ को निर्वाचनमा कांग्रेसबाट चुनाव जितेका बुढाले एक वर्ष कार्यकाल बाँकी हुँदै रास्वपा प्रवेश गरेपछि जुम्ला कांग्रेसले कारबाहीका लागि सिफारिस गरेको थियो । कांग्रेस पार्टीले नभई गुठीचौरका जनताले भोट दिएर जिताएको भन्दै पद फाल्न चुनौती दिएका थिए । कांग्रेसका तर्फबाट निर्वाचित जनप्रतिनिधिहरूले दल त्याग गरी अन्य दलमा प्रवेश गरेको भनी नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले निर्णय गरी आयोगमा जानकारी गराएको थियो ।











कनका खबर । २०८३ साउन १७