हिमा गाउँपालिकामा निर्माण गरिएको सौर्य लिफ्ट सिँचाइ आयोजना

बर्सीदेखि आकासे पानीको भरमा खेती गरिरहेका जुम्लावासीका लागि अब नयाँ आशाको ढोका खुलेको छ । सिँचाइ अभावले बाँकिँदै गएका खेतबारी अब वर्षभरि हराभरा हुने स्थानीयले अपेक्षा गरेका छन् ।

डेढ करोड रुपियाँ लागतको आधुनिक सौर्य लिफ्ट सिँचाइ आयोजना सञ्चालनमा आएपछि हिमा गाउँपालिकाका किसान लाभान्वित हुने आशा गरिएको छ। सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना मुगुका प्रमुख तेजनारायण महतोले आयोजनाको उ‌द्घाटन गर्नुभएसँगै यस क्षेत्रमा किसानले लामो समयदेखि भोग्दै आएको सिँचाइको समस्या अन्त्य हुने विश्वास गरिएको छ। यो आयोजना आधुनिक सौर्य ऊर्जामा आधारित लिफ्ट प्रणालीमार्फत सञ्चालन गरिने छ । नेपाल सरकार, ऊर्जा, जलस्रोत तथा सिँचाइ

मन्त्रालय अन्तर्गतको सिँचाइ तथा जलस्रोत व्यवस्थापन मुगुमार्फत यो आयोजना हिमा गाउँपालिका-१ को राताढु‌ङ्गादेखि बजडीसम्म करिव ९५० मिटर दुरीको माथिल्लो भागसम्म पानी पुग्ने गरी निर्माण गरिएको छ ।

हिमा गाउँपालिका-१ का वडाध्यक्ष रतनबहादुर शाहीले आयोजना सञ्चालनमा आएसँगै आचार्यलिही र देवारगाउँलगायतका किसानको जीवनमा सकारात्मक परिवर्तन आउने विश्वास व्यक्त गर्नुभयो। पर्याप्त सिँचाइ नहुँदा यहाँका खेतीयोग्य जमिनको पूर्ण उपयोग हुन सकेको थिएन। आयोजनाबाट करिब एक हजार पाँच सयभन्दा बढी किसान लाभान्वित हुने छन् । सिँचाइ सुविधा विस्तार भएसँगै धान, गहुँ, मकै, सिमी, तरकारी, स्याउ, ओखरलगायत नगदे तथा खाद्यान्न बालीको उत्पादन बढ्ने स्थानीयको अपेक्षा छ। आयोजना प्रमुख तेजनारायण महतोले गुणस्तरीय निर्माणलाई प्राथमिकतामा राख्दै योजना समयमै सम्पन्न गरिने बताउनुभयो ।

प्रकाशित मितिः   २०८३ साउन ८ at 7:32 am 

  • कमेन्ट (Comment)