
सिन्जा गाउँपालिकामा निःशुल्क कानको स्वास्थ्य शिविर सम्पन्न भएको छ। वि एन अस्पताल नेपालगन्जको प्राविधिक सहयोग, गुड न्युज फर नेपालको सहकार्य तथा सिन्जा गाउँपालिकाको आयोजनामा भएको यस शिविरमा कुल २५९ जना बिरामीले स्वास्थ्य सेवा प्राप्त गरेका छन्। स्वास्थ्य संयोजक ललित रोकायाले दिएको जानकारी अनुसार, शिविरमा १३६ जना पुरुष र १२३ जना महिला सहभागी भएका थिए।
शिविरको उद्देश्य कानसम्बन्धी समस्या भएका मानिसहरूको स्वास्थ्य जाँच गरी उपचार प्रदान गर्नु थियो। यस अवसरमा, कानको शल्यक्रियाका लागि ४८ जना बिरामी छनोट गरिएको छ, जसमा २७ जना पुरुष र २१ जना महिला रहेका छन्। शिविरमा ११ जनालाई कानमा मेशिन प्रयोग गर्नुपर्ने देखिएको छ भने ८१ जनामा पिटिए (कानको सुन्न सक्ने क्षमता जाँच) परीक्षण गरिएको छ।
स्वास्थ्य शिविरमा १५० जनाको कान सफा गरिएको छ, जसमा काने गुजी, फोहोर तथा अन्य समस्याहरू हटाइयो। त्यस्तै, सबै सहभागीलाई आवश्यक औषधि वितरण गरिएको थियो, जसबाट २५९ जना लाभान्वित भएका छन्।
सिन्जा गाउँपालिकाका जनताका लागि यस शिविरले ठूलो राहत पुर्याएको छ। गाउँपालिकाको दुर्गम क्षेत्र र स्वास्थ्य सेवा पहुँचको अभावका कारण धेरै स्थानीय बासिन्दाहरू कानसम्बन्धी समस्याबाट पीडित रहँदै आएका छन्। यस शिविरको आयोजना गरेर गाउँपालिकाले स्थानीय स्तरमा स्वास्थ्य सुविधामा सुधार ल्याउने प्रयास गरेको हो।

यस निःशुल्क कान स्वास्थ्य शिविरले दुर्गम क्षेत्रका नागरिकहरूलाई प्राथमिक स्वास्थ्य जाँच र उपचारमा पहुँच पुर्याउने उद्देश्यमा टेवा पुर्याएको स्वास्थ्य संयोजक रोकायाले बताए। गाउँपालिकाले आगामी दिनमा पनि यस्ता शिविरहरू आयोजना गरी नागरिकहरूको स्वास्थ्य सेवा पहुँच सुधार्ने लक्ष्य लिएको जानकारी दिए।
शिविरमा स्थानीय बासिन्दाहरूको उत्साहजनक उपस्थिति र सहभागिता देखिएको थियो। शिविरले स्थानीय समुदायमा स्वास्थ्य सम्बन्धी सचेतना जगाउन महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।












प्रकाश उपाध्याय । २०८१ कार्तिक २८