जुम्लाको चन्दननाथ नगरपालिकाले नगरभित्र बढ्दो प्लास्टिक तथा सिसाजन्य फोहोर व्यवस्थापन गर्न पुनः प्रयोग केन्द्र स्थापना गरेको छ। नगरपालिका आफ्नै स्राेत साधनमा सञ्चालित यस केन्द्रले नगरमा वैज्ञानिक रूपमा फोहोर व्यवस्थापन गर्दै पुनः प्रयोगयोग्य सामग्री उत्पादन गर्ने लक्ष्य राखेको छ।
नगरपालिकाले ठोस तथा प्लास्टिकजन्य फोहोरको वास्तविक अवस्था बुझ्न २०८१ पुस १४ देखि १८ गतेसम्म सर्वेक्षण सञ्चालन गरेको थियो। प्रारम्भिक प्रतिवेदन अनुसार, नगरका होटल, सरकारी कार्यालय, स्वास्थ्य संस्था, व्यवसायिक स्थल, धार्मिक स्थल, विद्यालय र घरधुरी गरी १६० वटा स्थानहरूबाट फोहोर संकलन गरिएको थियो। तथ्यांक अनुसार, नगरका कुल फोहोरमध्ये ७९ प्रतिशत घरधुरीबाट, ९ प्रतिशत स्वास्थ्य संस्थाबाट, ७ प्रतिशत धार्मिक स्थलबाट र ५ प्रतिशत व्यापारिक क्षेत्रबाट निस्कने गरेको देखिएको छ। नगरपालिकाको शहरी क्षेत्रमा रहेका घरधुरीहरूबाट दैनिक औसत १ केजी फोहोर उत्पादन हुने तथ्य फेला परेको छ। दैनिक ६ देखि ८ टन फोहोर उत्पादन हुने नगरपालिकामा १६ प्रतिशत फोहोर प्लास्टिकजन्य रहेको छ, जसको मात्रा ५ देखि ८ केजी रहेको छ।
नगरपालिकाले फोहोर व्यवस्थापनलाई प्रविधिमैत्री बनाउन राष्ट्रिय आविष्कार केन्द्रबाट प्लास्टिक बहिष्करण तथा टुक्र्याउने मेसिन खरिद गरेको छ। रु. ८,९८,३५० लागतमा खरिद गरिएको यो मेसिन सञ्चालनका लागि २०८१ पुस १ देखि ७ गतेसम्म अपरेटर तालिम प्रदान गरिएको थियो। तालिम पश्चात दुई जना अपरेटरले नियमित रूपमा मेसिन सञ्चालन गरिरहेका छन्।
नगर प्रमुख राजु सिंह कठायतका अनुसार, नगरभित्रको फोहोर व्यवस्थापन गर्न निकै कठिनाइ भोग्नु परेको थियो। उनले नगरमा बढ्दै गएको फोहोरको उचित व्यवस्थापन गर्न विभिन्न ठाउँमा धाउनुपरेको बताउँदै महावीर पुनसँगको परामर्शपछि प्लास्टिक टुक्र्याउने मेसिन जुम्लामा ल्याउन सफल भएको बताए। उनले नगरवासीलाई फोहोरलाई वर्गीकरण गरी व्यवस्थापन गर्न आग्रह गर्दै घरभित्रका फोहोरलाई बाहिर निकाल्न र नगरपालिकाले त्यसलाई उपयोग गर्ने योजना बनाएको बताए।
नगरपालिकाले सञ्चालनमा ल्याएको प्लास्टिक बहिष्करण तथा टुक्र्याउने मेसिनले नगरभित्र जथाभावी फालिने प्लास्टिकजन्य फोहोरलाई व्यवस्थित रूपमा संकलन तथा वर्गीकरण गर्नेछ। यसबाट नगर सफा तथा स्वच्छ राख्न मद्दत पुग्नेछ। प्लास्टिकजन्य फोहोरलाई कम्प्याक्ट विम बनाएर थोरै ठाउँमा राख्न सकिनेछ भने फर्निचर तथा अन्य पुनः प्रयोगयोग्य सामग्री बनाउन सकिनेछ। साथै, प्लास्टिकजन्य फोहोरबाट हुने वातावरणीय हानिबारे नगरवासीहरूलाई सचेत बनाउने लक्ष्य नगरपालिकाले लिएको छ।
तर, मेसिन सञ्चालनमा केही चुनौतीहरू पनि देखिएका छन्। मेसिन सञ्चालन तथा मर्मत खर्चिलो हुनुका साथै आवश्यक सामग्री जिल्ला बाहिर मात्र उपलब्ध हुनु, अपरेटरहरूको सुरक्षाको प्रत्याभूति कमजोर हुनु, तथा पर्याप्त जनशक्ति र आधारभूत पूर्वाधारको अभाव हुनु प्रमुख समस्या रहेका छन्।
फोहोरमैला व्यवस्थापन शाखा प्रमुख लक्ष्मी चन्द्र न्यौपानेले नगरपालिकाले फोहोर व्यवस्थापनमा ठूलो लगानी गरे पनि राजस्व संकलनमा चुनौती रहेको बताए। उनका अनुसार, नगरपालिकाले लगानी र सेवा प्रभावकारी बनाइरहे पनि उठ्नुपर्ने राजस्व संकलन गर्न कठिनाइ भइरहेको छ। उनले प्लास्टिक तथा सिसाजन्य फोहोरको संकलन र व्यवस्थापनलाई व्यवस्थित गर्न विशेष कार्यविधि आवश्यक रहेको बताए। हालसम्म, चन्दननाथ नगरपालिकाले आ.व. २०८१/८२ को फागुन २७ गतेसम्म रु. २ लाख ५१ हजार ६ सय राजस्व संकलन गरेको छ।
नगरपालिकाले प्लास्टिकजन्य फोहोर न्यूनीकरणका लागि विभिन्न उपायहरू अवलम्बन गर्ने योजना बनाएको छ। प्लास्टिक प्रयोग नगर्ने वा कम गर्ने परिवारहरूको तथ्यांक संकलन गरी तिनलाई प्रोत्साहन गर्ने, विद्यार्थीहरूलाई प्लास्टिक संकलन गर्न प्रेरित गर्दै प्रति ५ केजी प्लास्टिकको विनिमयमा कापी तथा कलम उपलब्ध गराउने, अन्य नागरिकलाई प्रति केजी १० रुपैयाँ नगद वा नगरपालिका चिन्हयुक्त उपहार दिने योजना रहेको छ।
पुनः प्रयोग गरिएका प्लास्टिकबाट बेन्च तथा डेक्स निर्माण गरी सार्वजनिक स्थानमा राख्ने, प्लास्टिक न्यूनीकरणका लागि रेडियो जिंगल, सचेतना अभियान तथा प्लास्टिक संकलन कार्यक्रम सञ्चालन गर्ने, ४० माइक्रोनभन्दा कम प्लास्टिकको बिक्री, वितरण तथा प्रयोगमा पूर्ण रोक लगाउने, वडा तथा नगरपालिका स्तरमा प्लास्टिक तथा सिसाजन्य फोहोर व्यवस्थापन सम्बन्धी अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्ने तथा अन्य पालिकाबाट प्लास्टिक संकलन गरी पुनः प्रयोगका लागि केही राजस्व लिएर प्रयोग गर्ने योजना पनि नगरपालिकाले अघि सारेको छ।
नगर उप–मेयर रामदेवी खड्काका अनुसार, यो परियोजनालाई दीर्घकालसम्म सञ्चालन गर्न जनचेतना अभिवृद्धि गर्नु आवश्यक छ। उनका अनुसार, हाल नगरपालिकासँग दुई जना अपरेटर छन्, तर यसको दीर्घकालीन सञ्चालनका लागि थप जनशक्ति आवश्यक पर्नेछ। नगरवासीहरूलाई फोहोरलाई सही ठाउँमा व्यवस्थापन गर्न प्रेरित गर्नुपर्ने र प्लास्टिकरहित नगरपालिका बनाउने लक्ष्य नगरपालिकाले लिएको उनले बताइन्।
चन्दननाथ नगरपालिकाले प्लास्टिक तथा सिसाजन्य फोहोरको पुनः प्रयोग केन्द्र स्थापना गरी नगरलाई सफा, स्वच्छ र वातावरणमैत्री बनाउने महत्त्वपूर्ण कदम चालेको छ। नगरपालिकाले अवलम्बन गरेको योजनाले दीर्घकालीन रूपमा सफल हुनका लागि नगरवासीहरूको सहकार्य, जनचेतना अभिवृद्धि, नीति कार्यान्वयन तथा प्रविधिको प्रभावकारी प्रयोग आवश्यक छ।
कनका खबर । २०८१ फाल्गुन २८