चट्याङ लागेर जुम्लामा २१ वटा भेडाबाख्रा मरे

जुम्लाको गुठिचौर गाउँपालिका–२ को झुलेनी भन्ने ठाउँमा चट्याङ लागेर २१ वटा भेडाबाख्रा मरेका छन्। शनिबार साँझ ५ बजे रुखमुनि बसेका बेला चट्याङ पर्दा ती भेडाबाख्रा मरेका हुन्।

गुठिचौर गाउँपालिका २ नं वडाका पूर्व वडाध्यक्ष धनबहादुर बिहोरका अनुसार गुठिगाउँका किसान हिरबहादुर ऐडीका १६ र धनकृष्ण रोकायाका ५ वटा भेडाबाख्रा चट्याङमा परि मरेको हुन।

घरमा ल्याउन रुखमुनि जम्मा गरी राखिएको अवस्थामा चट्याङ परेको थियो। हिरबहादुरका ५० वटा र धनकृष्णका ३० वटा भेडाबाख्रा छन्। उनीहरूको घरखर्च भेडाबाख्राबाटै चल्ने गरेको छ।गाउँमा करिब ३,५०० भेडाबाख्रा रहेको बोहोराले बताए। उनले भने; एउटा भेडाबाख्राको मूल्य कम्तीमा १०,००० देखि अधिकतम २५,००० रुपियाँसम्म पर्ने गर्छ।

पशु अस्पताल तथा पशु सेवा कार्यालय जुम्लाका अनुसार जिल्लाकै सबैभन्दा बढी भेडापालन हुने ठाउँ गुठिचौरको पूर्वी क्षेत्र हो। पाटन र खर्कमा व्यवस्थित भेडीगोठ नहुँदा हरेक वर्ष चट्याङबाट भेडाबाख्रामा ठूलो क्षति हुने गरेको कार्यालयले जनाएको छ।

भेडाबाख्रा चट्याङबाट मरेपछि घरखर्च चलाउन समस्या भएको किसानहरूले बताएका छन्। किसान हिरबहादुर ऐडीले भने, “यो पेसाबाट घरखर्च देखि छोराछोरीको पढाइ खर्च सहज रूपमा चलेको थियो।”

गुठिचौर–२ का वडाध्यक्ष दीपबहादुर ऐडीले स्थानीय सरकारबाट सम्भव हुने सहयोग गरिने बताए। वडामा रकम नभएकाले गाउँपालिकाको विपद् शाखामा कुरा राख्ने उनको भनाइ छ।

प्रकाशित मितिः   २०८२ जेष्ठ ४ at 2:55 pm 

  • कमेन्ट (Comment)