रसुवामा जुम्लाका दर्जनौँ कामदार बेपत्ता, आफन्तमा बढ्यो चिन्ता

रोजगारीका लागि रसुवा पुगेका जुम्लाको पातारासी गाउँपालिकाका दर्जनौँ नागरिक बाढीपहिरोपछि सम्पर्कविहीन भएका छन्। रसुवास्थित एउटै हाइड्रोपावर आयोजनामा काम गरिरहेका पातारासीका करिब ७०–८० जनामध्ये ६ जना मात्रै सुरक्षित स्थानमा पुगेका छन्। अन्य कामदारको अवस्था अझै अज्ञात रहेको स्थानीयले बताएका छन्।
बाढीपहिरोबाट जोगिएर सुरक्षित स्थानमा पुगेका पातारासी–५ माथिल्लो लोर्पाका भक्तिराम बोहोराले आफूहरूसँगै काम गरिरहेका धेरै साथी सम्पर्कमा नआएको बताए। उनका अनुसार विपत्तिपछि कामदारहरू छरिएर सुरक्षित स्थानतर्फ लागेका छन्।
पातारासी–५ तल्लो लोर्पाका समाजसेवी रामन बुढाका अनुसार गाउँपालिकाका विभिन्न बस्तीबाट करिब ८०–९० जना रोजगारीका लागि रसुवा पुगेका छन्। घटनापछि बेपत्ता तथा सम्पर्कविहीन कामदारको खोजीका लागि स्थानीय प्रशासनसँग समन्वय भइरहेको उनले बताए।
बाढीपहिरो प्रभावित क्षेत्रमा सुरक्षा निकाय तथा उद्धार टोली परिचालन गरिएको छ। सम्भावित जोखिम क्षेत्रमा हेलिकप्टरमार्फत समेत खोजी तथा उद्धारको प्रयास भइरहेको जनाइएको छ।
यता, पातारासी गाउँपालिकाले रसुवा पुगेका आफ्ना नागरिकको यकिन विवरण संकलन गर्न थालेको छ। गाउँपालिका अध्यक्ष पूर्णसिंह बोहराका अनुसार कुन वडाबाट कति जना रसुवा पुगेका छन् भन्ने विवरण उपलब्ध गराउन सबै वडा अध्यक्षलाई निर्देशन दिइएको छ।
तर, उद्धार कार्य जारी रहेकाले सम्पर्कविहीन कामदारको वास्तविक संख्या अझै पुष्टि हुन सकेको छैन। रसुवाको घटनाले पातारासीका गाउँबस्तीमा त्रास र चिन्ता बढाएको छ भने घरपरिवार आफ्ना आफन्तको सुरक्षित अवस्थाको खबरको प्रतीक्षामा छन्।

प्रकाशित मितिः   २०८३ भाद्र १० at 7:20 pm 

  • कमेन्ट (Comment)