जनसेवा युवा क्लबका खेलाडीलाई चन्दननाथ ६ मा सम्मान


जुम्लामा सम्पन्न फुटबल प्रतियोगितामा विजयी जनसेवा युवा क्लबका खेलाडीलाई चन्दननाथ नगरपालिका वडा नं ६ ले सम्मान गरेको छ। वडा कार्यालयमा आयोजित एक विशेष कार्यक्रममार्फत विजेता खेलाडीहरूलाई खादा, माला र मायाको चिनो प्रदान गरी सम्मान गरिएको हो ।

कार्यक्रममा पूर्वराज्यमन्त्री भक्त बहादुर रोकाया, पूर्वमाननीय देविलाल थापा, दिलत अधिकारकर्मी मनसुर सुनार, राप्रपा नेता धन थापा लगायत स्थानीयवासीहरूको उत्साहपूर्ण सहभागिता रहेको थियो। सम्मान समारोहले स्थानीय स्तरमा खेलकुदको महत्व र युवाको योगदानप्रति कृतज्ञता प्रकट गरेको छ ।

कार्यक्रमका प्रमुख अतिथि भक्त बहादुर रोकायाले खेलकुदले युवा वर्गलाई अनुशासन, एकता र आत्मविश्वास सिकाउने बताउँदै जनसेवा युवा क्लबले जिल्लाको नाम उज्यालो बनाएकोमा खुसी व्यक्त गरे। सोही अवसरमा अन्य वक्ताहरूले पनि विजेता खेलाडीहरूको मेहनत, लगनशीलता र टीम स्पिरिटको प्रशंसा गर्दै उज्ज्वल भविष्यको शुभकामना दिए ।

कार्यक्रमको अध्यक्षता वडा नं ६ का वडा अध्यक्ष रबि थापाले गरेका थिए। उनले जनसेवा युवा क्लबका खेलाडीहरूले खेल मात्र जितेनन्, वडा र गाउँबासीको मन पनि जित्न सफल भएको उल्लेख गरे। उनले खेलकुदले समुदायलाई जोड्ने माध्यम बनेको र आगामी दिनमा पनि यस्ता गतिविधिलाई निरन्तरता दिने प्रतिबद्धता जनाए ।

उक्त प्रतियोगितामा जलजला फुटबल क्लबका खेलाडीहरूले पनि उल्लेखनीय प्रदर्शन गरेका थिए । उनीहरूलाई पनि सम्मानपूर्वक बिदाइ गर्दै खेलकुदमै समर्पित रहन प्रेरित गरिएको थियो। सम्मान कार्यक्रममा स्थानीय खेलप्रेमी, जनप्रतिनिधि र सामाजिक अभियन्ताहरूको उल्लेखनीय उपस्थिति थियो ।

प्रकाशित मितिः   २०८२ कार्तिक १८ at 7:31 am 

  • कमेन्ट (Comment)