जुम्लाको पातारासीमा जुवातास खेल्ने १० जना पक्राउ 

जुम्लाको पातारासी गाउँपालिका–५ लासी बजारस्थित एक होटलमा जुवातास खेलिरहेका १० जना, नगद रु. १ लाख २८ हजार २ सय रुपैयाँ सहित पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय जुम्लाले जुवातास भइरहेको गोप्य सूचनाका पाई छापा मार्दा होटलका सञ्चालकसहित १० जनालाई नियन्त्रणमा लिएको हो ।

पातारासीकै स्थानीय ४८ वर्षीया उर्मिला बुढाको ओम हिमा होटलमा जुवातास चलिरहेको गोप्य सूचनाको आधारमा प्रहरी निरीक्षक असीम हमालको नेतृत्वमा खटिएको १० सदस्यीय टोलीले छापा मारेको प्रहरीले जनाएको छ। घटनास्थलबाट होटल सञ्चालक बुढासहित अन्य ९ जनालाई पक्राउ गरिएको हो।

पक्राउ पर्नेहरूमा पातारासी गाउँपालिका–५ का ३२ वर्षीय धन बहादुर बुढा, सोही वडाका ३१ वर्षीय कर्ण बुढा, ४० वर्षीय नैन बुढा, ४२ वर्षीय गोबिन्द बुढा, वडा नं. ४ का ३२ वर्षीय श्याम बहादुर रेउले र ३५ वर्षीय राम बुढा, वडा नं. ६ का ३२ वर्षीय पूर्ण सिंह महतरा र ३६ वर्षीय गोरख बुढा, साथै वडा नं. ७ का ३० वर्षीय अनिल खड्का रहेका छन्।

नियन्त्रणमा लिएर थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय जुम्ला ल्याइएको छ। प्रहरीले यसलाई सामाजिक विकृति नियन्त्रण अभियानअन्तर्गतको कारबाही मानेको छ। जुवातासजस्ता गतिविधिमा संलग्न हुनेहरूलाई कानुनी दायरामा ल्याउन निरन्तर निगरानी र कारबाही जारी रहने प्रहरीले जनाएको छ।

प्रकाशित मितिः   २०८२ असार २७ at 8:45 pm 

  • कमेन्ट (Comment)