रास्वपा केन्द्रीय समिति बैठक सुरु

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक सुरु भएको छ ।
वनस्थलीस्थित घण्टी घर केन्द्रीय कार्यालयमा बैठक सुरु भएको हो ।

महामन्त्री विपिनकुमार आचार्यका अनुसार बैठकमा पार्टीका दस्तावेज, साङ्गठनिक व्यवस्थापन तथा मनोनयन, योजना, कार्यक्रम तथा अभियान लगायतका विषयमा छलफल हुने कार्यसूची छ ।

उनका अनुसार पार्टीको दस्तावेज अन्तर्गत स्थानीय निर्वाचनका लागि उम्मेदवार छनोट रूपरेखा २०८३ अनुमोदन एवं राइट टु रिकल सम्बन्धी दस्तावेज निर्माण गर्ने सम्बन्धमा छलफल हुने कार्यसूची छ ।

यसैगरी साङ्गठनिक व्यवस्थापन तथा मनोनयन अन्तर्गत केन्द्रीय समिति सदस्य मनोनयन, पदाधिकारी मनोनयन, सचिवालय सदस्य मनोनयन, विभागीय प्रमुखहरूको मनोनयन, स्थानीय निर्वाचनका लागि केन्द्रीय उम्मेदवार छनोट समिति सदस्य मनोनयन बैठकको कार्यसूचीमा छ ।

योजना, कार्यक्रम तथा अभियान अन्तर्गत केन्द्रीय समिति र प्रतिनिधि सभा सदस्य नेतृत्वमा स्थानीय तहमा “उम्मेदवार छनोट रूपरेखा” अभिमुखीकरण तथा प्रशिक्षण कार्यक्रम सञ्चालन एवं  पार्टीको मुखपत्रका रूपमा “स्वतन्त्र” मासिक डिजिटल पत्रिका प्रकाशन गर्ने सम्बन्धमा पनि छलफल हुने कार्यसूची छ ।

प्रकाशित मितिः   २०८३ भाद्र ५ at 2:05 pm 

  • कमेन्ट (Comment)