
“पोषणका लागि हातेमालो” अभियानलाई अगाडि बढाउँदै तातोपानी गाउँपालिकामा प्रारम्भिक बाल विकास केन्द्रमा कार्यरत सहजकर्ताहरुलाई लक्षित गरी एक दिने पोषणसम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न गरिएको छ ।
गत २०८२ साल असार १५ गते तातोपानी गाउँपालिकाको आयोजनामा सम्पन्न उक्त कार्यक्रममा पालिकाका वडा नम्बर १ देखि ८ सम्मका ३१ जना बाल विकास सहजकर्ता सहभागी भएका थिए । कार्यक्रममा सहभागीहरुलाई पोषणका आधारभूत अवधारणा, सन्तुलित आहार, बालबालिकाको शारीरिक तथा मानसिक विकासमा पोषणको भूमिका, मातृ-शिशु स्वास्थ्यमा खानेकुराको महत्वलगायत विषयमा जानकारी प्रदान गरिएको थियो ।
तातोपानी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत तिर्थ बहादुर कठायतका अनुसार, गाउँपालिकालाई पोषणयुक्त पालिका घोषणा गर्ने दीर्घकालीन उद्देश्यसहित कार्यक्रम सञ्चालन गरिएको हो । उनले भने, “गाउँपालिकामा पोषणको अवस्था सुधार गर्दै प्रत्येक वडामा जनचेतना अभिवृद्धि गर्ने र व्यवहारमा परिवर्तन
ल्याउने लक्ष्यसहित यो कार्यक्रम सञ्चालन गरिएको हो ।
बालबालिकाको समुचित विकासको पहिलो आधार पोषण भएकाले यस क्षेत्रलाई प्राथमिकतामा राखिएको छ ।”
कार्यक्रममा पोषण शाखाका संयोजक मणिकृष्ण उपाध्यायले सहभागी सहजकर्ताहरुलाई पोषणसम्बन्धी विविध युक्तिहरुका बारेमा जानकारी गराएका थिए । उनले स्थानीय स्रोत साधनको अधिकतम उपयोग गरी बालबालिकालाई पोषणयुक्त खाना उपलब्ध गराउने उपायहरुमाथि प्रकाश पारे । साथै, बाल विकास केन्द्रलाई पोषण संवेदनशील स्थलका रुपमा विकास गर्नुपर्नेमा उनले जोड दिए ।
उक्त अभिमुखीकरण कार्यक्रमले सहजकर्ताहरुलाई बालबालिकाको स्वास्थ्य र पोषणमा अझ जिम्मेवार बन्ने प्रेरणा दिएको सहभागीहरुले बताएका छन् । एक सहभागीले भने, “हामीले नियमित रूपमा बच्चाहरुसँग काम गर्दै आएका छौँ। पोषणसम्बन्धी यो जानकारीले हामीलाई अझै प्रभावकारी सेवा प्रवाह गर्न सहज बनाएको छ ।”
तातोपानी गाउँपालिकाले आगामी दिनमा पनि विद्यालय, स्वास्थ्य संस्था, मातृ समूह र महिला समूहहरुसँग समन्वय गरी पोषणमूलक गतिविधिहरु सञ्चालन गर्ने तयारी गरिरहेको जनाएको छ। गाउँपालिका नेतृत्वले समुदायमै आधारित पोषण सुधार कार्यक्रमको विस्तार गर्दै बालमैत्री वातावरण निर्माण गर्न दृढता व्यक्त गरेको छ ।
यस कार्यक्रममार्फत पोषण शिक्षालाई व्यवहारमा रूपान्तरण गर्दै स्थानीय तहबाटै दिगो समाधानको खाका कोर्ने पहलको रुपमा लिइएको छ। तातोपानी गाउँपालिकाको यो प्रयासले स्थानीय बालबालिका र आमा–बुवाहरूको पोषण सम्बन्धी चेतना अभिवृद्धि गर्दै समुन्नत भविष्य निर्माणमा योगदान पुग्ने अपेक्षा गरिएको छ ।











प्रकाश उपाध्याय । २०८२ असार १५