
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र नाम्खा गाउँपालिकाको संयुक्त आयोजनामा हुम्लाको नाम्खा क्षेत्रमा स्वास्थ्य शिविरको पहिलो दिनमा पाँच सय ६ जनाले स्वास्थ्य सेवा प्राप्त गरेका छन्।
शिविरमा विभिन्न स्वास्थ्य समस्या समाधानका लागि विशेषज्ञ चिकित्सकहरूको टोली खटिएको छ।
बालबालिकामा कान पाक्ने समस्या देखिएको भए पनि पोषण सम्बन्धी समस्या भने भेटिएन। बालरोग विशेषज्ञ डा. उत्तरा गौतमका अनुसार बालबालिकामा निमोनिया र रुघाखोकीको अलि–अलि समस्या देखिए पनि कुपोषणको समस्या भने फेला परेको छैन।
महिलामा फोहर पानी बग्ने, महिनावारीमा गडबडी लगायतका समस्या प्रमुख रहेको स्त्रीरोग विशेषज्ञ डा. विनिता सुवेदीले बताइन्।
छालासम्बन्धी समस्यामा पनि वृद्धि भएको पाइएको छ। छाला रोग विशेषज्ञ डा. हरिहर अधिकारीले औषधि बिना परामर्श प्रयोग गर्दा छालामा समस्या बढेको बताए।
उनले भने, ‘छालामा खासगरी सुख्खा हुने समस्या बढी देखिएको छ, जुन यहाँको वातावरण र गलत औषधि प्रयोगसँग सम्बन्धित छ।’
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. मंगल रावलका अनुसार शिविरमा अपेक्षाभन्दा बढी जटिल प्रकृतिका बिरामी आएका छन्, जसले यस क्षेत्रको स्वास्थ्य अवस्थाको गम्भीरताको चित्रण गर्दछ।
यो शिविरले स्थानीय बासिन्दाहरूको स्वास्थ्य अवस्थाको सुधारमा महत्त्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ।











प्रकाश उपाध्याय । २०८१ कार्तिक २१