मलाई मान्छे भन्न तयार नभएकाहरु!

मलाई भन्नू पर्दैन महान!
मलाई नेता भनेर पनि सम्बोधन गर्नु पर्दैन
गर्नु पर्दैन तिमीले मेरो सेवा!
जोड्नु पर्दैन दुई हात तिमीले
चाहिँदैन तिम्रो बिन्ती तिमीसँगै राख
मलाई मान्छे भन्न तयार नभएकाहरु!

गर्नुपर्दैन माक्र्सवाद, लेलिनवाद, माओवाद,
सिद्धान्तहरुको विश्लेषण!
सुनाउनु पर्दैन समाजवाद/समानताका कुराहरु
तिम्रो काम नलाग्ने तर्क/वितर्क गरिराख्नु पर्दैन
देश बनाउँछु भन्दै झुटा आश्वासन दिनेहरू
गरिराख्नु पर्दै पर्दैन तिमीले महानताका कुराहरु
मलाई मान्छे भन्न तयार नभएकाहरु!

लगाउनु पर्दैन जात व्यवस्था विरुद्धको नारा
मलाई राम्रोसँग थाहा छ तिमी सामन्तीहरुको पारा
गल्ली गल्लीमा टाँस्नु पर्दैन जनचेतनामूलक पोस्टरहरु
चिन्ता लागिरहेछ तिम्रो मस्तिष्कमा घाम कहिले लाग्छ बरु
मलाई मान्छे भन्न तयार नभएकाहरु!

गाउनु पर्दैन मुक्तिको गीत
अवस्था अझैसम्म उस्तै छ हाम्रो भयभित
तिमीप्रति यो मनमा अझै दरार छ
भन भेदभाव गर्नुहुँदैन भन्ने तिम्रो सु-सोच कहाँ फरार छ?
गरेर पुर्खौदेखिको ममाथिको शासन
किन छोड्न तयार छैनौ तिमी बसेको आसन?
मलाई मान्छे भन्न तयार नभएकाहरु!

रगत मेरो रातो छ
यो धर्तीको लोकमा मेरो पनि अस्तित्व छ
किन? अझै स्वीकार गर्न सकिरहेका छैनौं ?
मलाई अछुतको संज्ञा दिएर कहिँलेसम्म पुष्टि गर्न खोज्छौं?
आफू मात्र हुँ मानवको स्वरुप भनेर!

अब विद्रोहको सुरुवात हुनसक्छ
सामन्तिको टाउकोमा रातो रङ्ग छाउन सक्छ
भत्किएर जानेछ तिम्रो शताब्दीदेखिको अ- न्यायीक शासन
बुझ्नुपर्नेछ बुझ्न नसकेकाहरुले पनि
स्वीकार गर्नुपर्छ अस्वीकार गर्नेहरुले पनि
अब देखि मलाई पनि मान्छे भन्न तयार हुनुपर्छ
मलाई मान्छे भन्न तयार नभएकाहरु!

 

प्रकाशित मितिः   २०८१ जेष्ठ ५ at 2:42 pm 

  • कमेन्ट (Comment)