नेपाली सेनाको मुख्य भूमिका रहने राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय विधेयक प्रतिनिधिसभामा प्रस्तुत

 

नेपाली सेनाको मुख्य भूमिका रहने गरी प्रस्तावित राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय विधेयक प्रतिनिधिसभामा प्रस्तुत भएको छ । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को तर्फबाट कानुन न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले यो विधेयक सभामा प्रस्तुत गरेकी हुन् ।
मंगलबार बसेको सभामा विधेयक प्रस्तुत गर्दै उनले राष्ट्रिय सुरक्षा, प्रतिरक्षा, अन्तर्राष्ट्रिय सम्बन्ध र सामरिक विषयमा उच्चस्तरीय अध्ययन, अध्यापन र अनुसन्धानमार्फत राष्ट्रिय हितको संरक्षण, संवर्द्धन र प्रवर्द्धन गर्ने विधेयकको उद्देश्य रहेको बताइन् ।
यस सम्बन्धी सक्षम, दक्ष र जिम्मेवार स्वदेशी तथा विदेशी मानवस्रोत उत्पादन गर्ने उद्देश्यले राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय विधेयक तर्जुमा गरिएको हो ।
भूराजनीतिक संवेदनशीलता र बदलिँदो सुरक्षा चुनौतीहरूको सामना गर्न स्वदेशमै विशिष्टीकृत प्राज्ञिक केन्द्र स्थापना गरी सैनिक तथा गैर सैनिक अधिकारीहरूलाई उच्च शिक्षा र तालिम प्रदान गर्नु यस विश्वविद्यालयको स्थापना तथा सञ्चालनको मुख्य कारण रहेको छ ।
सरकारलाई सुरक्षा तथा सामरिक मामिलामा नीति निर्माण गर्दा प्रमाणमा आधारित तथ्यहरु सहितको राय सुझाब दिई सघाउनुका साथै देशको सुरक्षा कूटनीतिलाई सुदृढ बनाउन महत्वपूर्ण योगदान पुर्‍याउने उद्देश्य विधेयकले लिएको छ ।

प्रकाशित मितिः   २०८३ असोज १३ at 12:01 pm 

  • कमेन्ट (Comment)