विधालय जान शारिरिक अवस्थाले नदिँदा घरमै शिक्षिका उपल्बध 

 

जुम्लाको तातोपानी गाउँपालिका- ४, नियापानीका शारिरिक रुपमा अपाङ्गता भएका मुकेन्द्र सार्की विद्यालयसम्म जान सक्दैनन्।

शारिरिक रुपमा अपाङ्गता भएका उनले सहज ढङ्गले विधालय गई शिक्षा आर्जन गर्न सक्ने अवस्था नहुँदा उनको इच्छाशक्ति देखेर सेभ द चिल्ड्रेनको आर्थिक सहयोग र किडार्क नेपालद्वारा सञ्चालित सहयात्रा परियोजनाले उनलाई घरमै शिक्षिका उपलब्ध गराएको छ।

यस अभियानअन्तर्गत सोही गाउँकी सावित्री नेपालीलाई मुकेन्द्रको व्यक्तिगत शिक्षिका नियुक्त गरिएको छ। सावित्रीले मुकेन्द्रलाई पढाउन पाउँदा आफूलाई खुसी लागेको बताउँछिन्।

अपाङ्गता भएका विद्यार्थीहरूले शिक्षामा संलग्न हुन पाउँदा आफ्नो पेशालाई सामाजिक रूपान्तरणको माध्यम बनाउन पाएको उनको अनुभव छ।

शारिरिक रुपमा असक्त भए पछि छोराले शिक्षा आर्जन गर्न पाउने कुराको कल्पना समेत नगरेको मुकेन्द्रका बुबा भद्रविर सार्कीले बताए। आफ्नो जीवनमा यो सहयोग ठूलो राहत बनिरहेको भद्रविरको भनाई छ ।

उनले भने, “पहिले छोराको शिक्षा त परै जाओस्, दैनिक क्रियाकलापमै समस्या थियो। तर, अहिले शिक्षिका र पालिकाको सहयोगले छोराको जीवनमा परिवर्तन आएको छ।”

मुकेन्द्र जस्ता शारिरिक रुपमा अशक्त भएका र शिक्षाको पहुँचमा पुग्न नसकेका बालबालिकाको सेवामामा समर्पित रहन आफुहरु प्रतिबद्ध रहेको तातोपानी गाउँपालिका अध्यक्ष नन्दप्रसाद चौलागाईंले बताए।

सहयात्रा परियोजनाले यस प्रक्रियालाई सहज बनाएको भन्दै उनले अपाङ्गता भएका बालबालिकाको शिक्षामा प्राथमिकता दिनु सामाजिक न्यायको अभिन्न हिस्सा भएको उल्लेख गरे।

“यस परियोजनाले मुकेन्द्र मात्र होइन, अपाङ्गता भएका अन्य बालबालिकाको जीवनमा पनि परिवर्तन ल्याउने प्रयास गरेको छ,” अध्यक्ष चौलागाईंले भने, “शिक्षिकाको माध्यमबाट आधारभूत शिक्षा दिनुका साथै फिजियोथेरापी सेवा उपलब्ध गराउने योजना अघि सारिएको छ।”

पालिकाले आगामी दिनमा यस्ता कामहरूलाई थप विस्तार गर्दै मुकेन्द्रजस्ता विद्यार्थीहरूलाई माथिल्लो कक्षामा पढ्नका लागि अवसर प्रदान गर्ने योजना बनाएको अध्यक्ष चौलागाईंले बताए।

उनका अनुसार शिक्षा कुनै वर्ग, जात वा अवस्थाले सीमित गर्न सकिने अधिकार होइन। मुकेन्द्रको कथा यस सत्यको पुष्टि हो। उनको दृढ इच्छाशक्ति र शिक्षिकाको निष्ठाको यो मिलन, गाउँको कुनामा शिक्षा र समताको झिल्को फैलाउँदैछ।

यो प्रयासले देखाएको छ, अपाङ्गता भएका व्यक्तिहरूलाई दयाभावले नभई उनीहरूको अधिकारको दृष्टिकोणबाट हेर्नुपर्छ। यसले समतामूलक समाजको निर्माणमा महत्वपूर्ण योगदान दिन्छ।

 

यसैले मुकेन्द्रजस्ता बालबालिकाको जीवनको यात्रालाई “सहयात्रा परियोजना”ले दिएको साथले समाजलाई प्रेरणा र नयाँ दृष्टिकोण दिएको छ।

प्रकाशित मितिः   २०८१ मङ्सिर २४ at 7:54 pm 

  • कमेन्ट (Comment)