चन्दननाथ नगरपालिकामा आ.व. २०८२/०८३ का लागि शाखा प्रमुखहरु संग कार्यसम्पादन सम्झौता सम्पन्न

चन्दननाथ नगरपालिका, जुम्लामा आज साउन १९ गते नगरपालिकाका विभिन्न शाखा प्रमुखहरूसँग आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि कार्यसम्पादन सम्झौता सम्पन्न भएको छ। प्रमुख प्रशासकीय अधिकृत टेकबहादुर बुढथापा नेतृत्वमा सम्पन्न सम्झौतामा विभिन्न शाखा प्रमुखहरु सहभागी भएका छन्।

कार्यसम्पादन सम्झौतामा सहभागी शाखा प्रमुखहरूमा जिन्सी शाखाका महेन्द्र आचार्य र जय शर्मा आचार्य, योजना शाखाका प्रमोदजंग शाह, शिक्षा शाखाका खडानन्द चौलागाईं, आर्थिक प्रशासन शाखाका पूर्णबहादुर ठकुरी, षोषण शाखाकी प्रमुख तारा सेजुवाल, स्वास्थ्य शाखाका क्षेत्रबहादुर महत, भेटेनरी शाखाका वीरबहादुर रावल, कृषि शाखाका प्रमुख सुर्जा बोहोरा, महिला तथा बालबालिका शाखाकी प्रमुख अम्बिका बुढाथापा, विपद शाखा लक्ष्मीचन्द्र न्यौपाने,सुरक्षा शाखाका जंग बुढा उर्जा शाखा छबिलाल न्यौपाने,राजस्व शाखा प्रमुख कमल भण्डारी, उधोग शाखा प्रमुख गोरख बहादुर रावत   पंजिकरण शाखासहितका अन्य शाखा प्रमुखहरु रहेका छन्।

प्रमुख प्रशासकीय अधिकृत बुढथापाले सम्झौता नगरपालिकाको नीति तथा कार्यक्रमलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न महत्त्वपूर्ण कडी हुने बताए। “शाखा प्रमुखहरूसँगको यो सम्झौता प्रशासनिक उत्तरदायित्व र पारदर्शितालाई सुनिश्चित गर्दै विकास निर्माण र सेवा प्रवाहलाई प्रभावकारी बनाउने दिशामा अग्रसर हुने छ,” बुढथापाले बताए।

उनले थपे, “यो सम्झौता नगर प्रमुख र प्रमुख प्रशासकीय अधिकृतबीच भएको आर्थिक वर्ष २०८२/०८३ को कार्यसम्पादन सम्झौतालाई कार्यान्वयनमा लैजान समेत सहयोगी हुने छ।”

कार्यसम्पादन सम्झौता अनुसार प्रत्येक शाखाले आ-आफ्नो क्षेत्रको सेवा प्रवाह, विकास योजना, सार्वजनिक उत्तरदायित्व, पारदर्शिता तथा परिणाममुखी कामको आधारमा तोकिएको लक्ष्य पुरा गर्न प्रतिबद्ध रहनेछ।

नगरपालिकाले यसरी प्रत्येक शाखासँग वार्षिक लक्ष्य निर्धारण गरी स्पष्ट कार्यदिशा तय गर्नुले समग्र नगरपालिका प्रशासनलाई दक्ष, जवाफदेही र सेवा मुखी बनाउने अपेक्षा गरिएको छ।

सम्झौता सम्पन्न कार्यक्रममा चन्दननाथ नगरपालिकाका अन्य कर्मचारी तथा सरोकारवालाहरूको पनि उपस्थिति थियो।

नगरपालिका प्रशासनका अनुसार अब हरेक शाखाले त्रैमासिक प्रगति विवरण प्रस्तुत गर्नेछ भने सेवा प्रवाहमा देखिने सुधार तथा नतिजाको मूल्यांकनसमेत गरिनेछ।

यसरी शाखा प्रमुखहरूसँग गरिएको यो कार्यसम्पादन सम्झौताले चन्दननाथ नगरपालिकालाई सुशासन, उत्तरदायित्व र विकासमा उदाहरणीय बनाउन सहयोग पुर्‍याउने विश्वास गरिएको छ।

प्रकाशित मितिः   २०८२ साउन १९ at 11:06 pm 

  • कमेन्ट (Comment)