चन्दननाथमा सुपर परियोजनाको समीक्षा सम्पन्न, नीतिगत सुदृढीकरणमा रेडक्रसको योगदान प्रशंसनीय

नेपाल रेडक्रस सोसाइटी र चन्दननाथ नगरपालिकाको सहकार्य र स्विस रेडक्रस को आर्थिक तथा प्राविधिक सहयोगमा सञ्चालित सुपर परियोजनाको वार्षिक समीक्षा बैठक सम्पन्न भएको छ।

बैठकले सन् २०२५ मा सम्पन्न गतिविधिहरूको उपलब्धि, प्रभावकारिता, चुनौती, सिकाइ र आगामी कार्ययोजनाको समीक्षा गर्दै विपद् व्यवस्थापन र जलवायु उत्थानशीलता सम्बन्धी नीतिगत व्यवस्थामा अझ सुदृढीकरण गर्नुपर्ने निष्कर्ष निकालेको छ।

रिपोर्ट अनुसार परियोजनामा हालसम्म नगरपालिकाको ३० प्रतिशत, समुदाय र विद्यालयको ४ प्रतिशत, र नेपाल रेडक्रस सोसाइटीको ६६ प्रतिशत खर्च भएको पाइएको छ।

कार्यक्रममा नगरपालिका शिक्षा शाखा प्रमुख खडानन्द चौलागाईले विद्यालयस्तरीय विपद् जोखिम न्यूनीकरणका क्रियाकलाप र स्थानीय पाठ्यक्रम (कक्षा १–५) मा विपद् व्यवस्थापन विषयको समावेशले गुणस्तरीय शिक्षा र सुरक्षित सिकाइ वातावरण निर्माणमा टेवा पु‍र्‍याएको बताए।

त्यस्तै, नगर प्रमुखले कार्यक्रमा उठेका जिज्ञासाहरुको सम्बोधन गर्दै परियोजना नगरपालिकाको नीतिगत व्यवस्था र उत्थानशील नगर निर्माणका लागि अति आवश्यक रहेका साथै परियोजनाको निरन्तरताका लागि नगरले गर्नुपर्ने साझेदारीको तथा आवश्यक औपचारिकतालागि तयार रहेको र परियोजना अझै निरन्तर चाल्नुपर्ने कुरामा जोड दिनुभयो।
उप–प्रमुखले रेडक्रसले नगरपालिकाको विपद् व्यवस्थापन नीति, योजना र संस्थागत संरचना सुदृढीकरणमा पु‍र्‍याएको योगदान प्रशंसनीय रहेको जनाउँदै भने,
“अबको आवश्यकता विपद् व्यवस्थापनसम्बन्धी नीति, नियम, कार्यविधि र योजना निर्माणलाई संस्थागत बनाउने र तिनको समयसापेक्ष परिमार्जन गर्ने हो। यसका लागि रेडक्रसको प्राविधिक र परामर्शदातृ सहयोग अत्यावश्यक छ।”

त्यसैगरी, जिल्ला समन्वय समिति प्रमुख गौरिनन्द आचार्यले जिल्लास्तरीय विपद् प्रतिकार्य योजना निर्माणमा रेडक्रसले देखाएको विज्ञताको प्रशंसा गर्दै भने,
“विपद् पूर्वतयारी तथा प्रतिकार्य योजनाअनुसार जिल्लामा आवश्यकता अनुसार स्रोत साधन जुटाउन र प्रतिकार्य गर्न सहज भएको छ। रेडक्रसको योजनागत सहयोग र नीतिगत कार्य अब जिल्लाका अन्य पालिकाका लागि पनि मार्गदर्शन बन्न सक्छ।”

कार्यक्रमको अन्त्यमा परियोजना संयोजक पल्लवी सिँहले प्राप्त सुझाव र पृष्ठपोषणका आधारमा आगामी वर्षका गतिविधि नीतिगत सुदृढीकरण, स्थानीय क्षमतावृद्धि र संस्थागत समन्वयलाई प्राथमिकतामा राखी अघि बढाइने जानकारी दिइन्।
सोही कार्यक्रमा जुम्ला रेडक्रसका कार्यबाहक सभापतिले बैठकमा उठेका जिज्ञासा र प्राप्त पृष्ठपोषणहरुलाई आत्मासाथ गरी जिल्ला शाखाको बैठक र केन्द्रीय कार्यालयसंग समन्वय गरी कार्यक्रम सनचालन गर्ने व्यक्त गरेका थिए । कार्यक्रमको अन्त्यमा कार्यबाहक सभापति ले नगर प्रमूख र उप प्रमुखलाई विपद् पूर्वतयारी तथा पूर्व सूचनाका लागि पूर्व सूचना प्रणाली साइरन हस्तान्तरण गरेका थिए ।

प्रकाशित मितिः   २०८२ असोज २६ at 9:47 am 

  • कमेन्ट (Comment)