सिंजाको कनकासुन्दरीमा कसंम कलाघर निर्माण हुदै

जुम्ला – कनकासुन्दरी गाउँपालिका – ५ गोठीज्यूलामा कर्णाली खस सस्कृति संरक्षण मञ्च (कसंम) कलाघर निर्माण गर्न थालिएको छ । सिंजा उपत्यकाको खस सभ्यता संरक्षण गर्न उद्देश्यका साथ कसंम कला नाट्य घर निर्माण गर्न थालिएको हो ।
कर्णाली प्रदेश सरकार, सामाजिक विकास कार्यालय, जुम्लाको १५ लाख र कनकासुन्दरी गाउँपालिका जुम्लाको तीन लाख रुपियाँ गरी १८ लाख बजेटमा कलाघर (भवन) निर्माण गर्न थालिएको कसंम कलाघरका सचिव दिपेन्द्र उपाध्यायले बताए ।६ सय वर्गमिटर क्षेत्रफल भएको जग्गामा तीन सय जनाको क्षमता भएको कलाघर (भवन) निर्माण गर्न ७० लाख बजेट खर्च हुने अनुमान गरिएको छ ।

सचिव उपाध्यायले भने, चाल आर्थिक वर्षमा १८ लाख बजेटको काम हुदैछ । आर्थिक वर्ष ०८३/०८४ मा ३० लाख र आर्थिक वर्ष ०८४/०८५ मा २२ लाख बजेटको आवश्यकता रहेको छ । आवश्यक बजेटका लागि आगामी वर्षमा पहल थालिने छ । इच्छुक संस्था र व्यक्तिलाई पनि आर्थिक सहयोगका लागि अपिल गरेका छौँ ।
कसंम कलाघरले सिंजा सभ्यताको संरक्षण गर्ने अपेक्षा गरिएको सामाजिक विकास कार्यालय, जुम्लाका प्रमुख टोपबहादुर बुढाले बताए । उनले भने, सिंजा उपत्यका एक इतिहास हो । यहाँका कला सस्कृति हराउदै जान थालेका छन् । यसको जगेर्ना गर्न आवश्यक छ ।

प्रकाशित मितिः   २०८२ पुष १९ at 6:40 pm 

  • कमेन्ट (Comment)