मुगु, माघ १५ – नेकपा (एमाले) को जनवर्गीय संगठन नेपाल खेलकुद महासंघ मुगुको आयोजनामा खुल्ला पुरुष भलिबल प्रतियोगिता सुरु भएको छ। प्रतियोगिताको उद्घाटन नेकपा (एमाले) मुगुका अध्यक्ष पूर्ण बहादुर रोकायाले गरेका हुन्।
आज सम्पन्न खेलमा दुई प्रतिस्पर्धा भएका छन्। पहिलो खेलमा छायानाथ रारा नगरपालिका र सिडिएस पार्क गम्था प्रतिस्पर्धामा उत्रिएका थिए, जसमा सिडिएस पार्क खत्याड गम्थाले नगरपालिका टोलीलाई २-१ सेटले पराजित गर्दै पहिलो जित हात पारेको छ।
त्यस्तै, दोस्रो खेल हुम्ला र डिएफसी मुगुबीच सम्पन्न भयो, जसमा महादेव हुम्लालाई डिएफसीले सोझो सेटमा हराएको खेलाडी अर्जुन बहादुर शाहीले जानकारी दिएका छन्।
प्रतियोगितामा १० टिमले सहभागिता जनाएका छन् भने खेल नकआउट प्रणालीमा खेलाइँदैछ। नेपाल खेलकुद महासंघका केन्द्रीय सदस्य तथा मुगु जिल्ला इन्चार्ज जेट बहादुर विकका अनुसार खेलकुदको विकासमा स्थानीय तहदेखि केन्द्रसम्मको ध्यानाकर्षण गराउन यो प्रतियोगिता आयोजना गरिएको हो।
मुगुको छायानाथ रारा नगरपालिकाको सदरमुकाम गमगढीमा उपयुक्त खेलमैदानको अभाव रहेकोले प्रतियोगिता निजी विद्यालय रारा बोर्डिङको सानो मैदानमा सञ्चालन भइरहेको छ। यसले सम्बन्धित निकायको ध्यानाकर्षण गराउने विश्वास आयोजकको छ।
खेल माघ १८ गतेसम्म सञ्चालन हुने जनाइएको छ।
मोहन शाही । २०८१ माघ १८