सिंजामा भूकम्प प्रतिरोधी संरचना बनाउने तालिम

जुम्लाको सिंजा गाउँपालिकामा भूकम्प प्रतिरोध संरचना निर्माण गर्ने दक्ष मिस्त्री उत्पादन गर्न तालिम दिइएको छ। पछिल्लो समय बढ्दो भुकम्पीय जोखिमलाई मध्यनजर गर्दै भूकम्प प्रतिरोधी पूर्वाधार निर्माणका लागि दक्ष मिस्त्री डर्कमी तालिम दिइएको हो।

भविष्यमा हुन सक्ने जोखिमबाट बच्न र क्षति न्युनिकरणका लागि सिंजामा भूकम्प प्रतिरोधी भवन निर्माण गर्न दक्ष मिस्त्री तालिम दिइएको पेश नेपाल जुम्लाका परियोजना संयोजक हेमराज भट्टले बताए। उनका अनुसार सिंजा गाउपालिका र पेस नेपाल जुम्लाको साझेदारीमा ५ दिने दक्ष मिस्त्री तालिम संचालन गरिएको हो।

‘उक्त तालिमबाट सिंजाका १९ जना स्थानीयहरु लाभान्वित हुनुभएको छ। उहाँहरुले भूकम्प प्रतिरोधी भवन निर्माणका सैदान्तिक तथा प्रयोगात्मक सीप सिक्नुभएको छ,’ उनले भने, ‘स्थानीय स्रोत साधनकै प्रयोग गरेर भूकम्प प्रतिरोधी संरचना बनाउने ज्ञान दिदाँ भविष्यमा हुन सक्ने जोखिम टार्न सकिनेछ।’

सिंजा गाउँपालिका उपाध्यक्ष सितली रोकायाले गत कार्तिककै भूकम्पबाट सिंजा क्षेत्रमा आंशिक क्षति भएको बताइन्। उनले भनिन्, ‘परम्परागत शैलीका मात्रै घर बनाउने ससमस्याले जोखिम बढेको बेला दक्ष मिस्त्री उत्पादनको तालिमले भूकम्प प्रतिरोधी भवन बनाउन टेवा पुगेको छ।’

प्रकाशित मितिः   २०८१ साउन ३२ at 12:35 pm 

  • कमेन्ट (Comment)