नेपालीहरुको महान पर्व बडादशैं आजबाट सुरु भएको छ । आज पहिलो दिन घटस्थापना हो ।
आज घटस्थापनाको साइत बिहान ११ बजेर ४७ मिनेटमा रहेको पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।
आज दिनभर चित्रा नक्षत्र परेकाले शास्त्रीय वचनअनुसार मध्याह्नकालमा अभिजित् मुहूर्तको साइत घटस्थापनाका लागि दिइएको समितिका अध्यक्ष सहप्राध्यापक डा. पुरुषोत्तम भट्टराईले बताए। सूर्योदयकालमा प्रतिपदा भएका दिनमा घटस्थापना गर्नुपर्छ भन्ने शास्त्रीय मान्यताअनुसार नै समितिले आजको दिनलाई घटस्थापना भनी निर्णय गरेको उनले जानकारी दिए ।
केही मानिसले सामाजिक सञ्जालमा घटस्थापना सोमबार गर्ने भनी गरेको हल्लाखल्ला शास्त्रसम्मत नहुने पनि उनले बताए ।
प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म हर्षोल्लास र धूमधामका साथ बडादशैं मनाइन्छ । बडादशैंको पहिलो दिन आज घर–घरमा वैदिक विधिपूर्वक दियो, कलश र गणेश स्थापना गरी घटस्थापना गरिन्छ ।











कनका खबर । २०८३ असोज २५