तिलाका वडाध्यक्ष माथि चक्कु प्रहार 

जुम्लाको तिला गाउँपालिका–५ का वडाध्यक्ष ४२ वर्षीय ललित बहादुर शाहीमाथि चक्कु प्रहार भएको छ। उनलाई जेठ १८ गते चक्कु प्रहार भएको हो। अनुगमनका क्रममा वडा नं. ४ बाट फर्कदै गर्दा उनलाई सामूहिक आक्रमण गरी चक्कु प्रहार गरिएको हो।

उक्त घटनामा संलग्न एक जनालाई जुम्ला बसपार्कबाट प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक असिम हमालका अनुसार, घाइते वडाध्यक्ष शाहीको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ।

उनलाई सामुहिक आक्रमण गर्ने ३ जना रहेको घाईते वडाध्यक्ष बताएका छन्। एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको र बाँकी दुई जनाको खोजी कार्य जारी रहेको उनले बताए। पक्राउ परेका आरोपित २० देखि २५ वर्ष उमेर समूहका छन्, तर प्रहरीले नाम भने सार्वजनिक गरेको छैन।

त्यस्तै सोही गाउँपालिका–३ का वडाध्यक्ष ३८ वर्षीय धन बहादुर शाहीमाथि पनि ढुंगा र मुक्का प्रहार भएको हो । उनले हेल्मेट लगाएकाले ठूलो चोट नलागेको बताए।

३ नं वडाका वडाध्यक्षले भने; ललितजीलाई चक्कु प्रहार भएकाले उहाँलाई गम्भीर चोट लागेको छ। हामी दुवैजना अहिले अस्पतालमा उपचाररत छौं,”

प्रकाशित मितिः   २०८२ जेष्ठ १९ at 9:34 pm 

  • कमेन्ट (Comment)