पर्यटन मन्त्री पाण्डेको मितव्ययी निर्णय: १२ करोडभन्दा बढीको छपाइ अब प्रज्ञा छापाखानाबाटै

काठमाडौं, मंसिर १६ – संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आफ्नो छपाइसम्बन्धी कार्यलाई व्यवस्थित गर्दै आर्थिक बचतको पहल गरेको छ। आइतबार मन्त्रालयमा बसेको बैठकले मन्त्रालयअन्तर्गतका सबै निकायहरूले नेपाल प्रज्ञा प्रतिष्ठानको प्रज्ञा छापाखानाको अधिकतम क्षमता प्रयोग गर्ने निर्णय गरेको हो।

बैठकले प्रज्ञा छापाखानाको क्षमताअनुसार गर्न सकिने छपाइका कार्यहरूको विवरणसहित सबै सम्बद्ध निकायलाई जानकारी दिन प्रतिष्ठानलाई निर्देशन दिएको छ। यस निर्णयसँगै हाल कुल सञ्चालन क्षमताको मात्र १५ प्रतिशत प्रयोगमा रहेको प्रज्ञा छापाखाना अब पूर्ण क्षमतामा सञ्चालनमा आउनेछ।

१२ करोडको छपाइ, तीनदेखि चार करोडको बचत

यो निर्णयसँगै वार्षिक रूपमा १२ करोडभन्दा बढीको छपाइ कार्य प्रज्ञा छापाखानाबाट हुने अनुमान गरिएको छ। यसबाट राज्यको तीनदेखि चार करोड रुपैयाँ बचत हुने पनि बताइएको छ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले केही समयअघि प्रज्ञा प्रतिष्ठानको भ्रमण गर्दै छापाखानाको पूर्ण उपयोगमार्फत प्रतिष्ठानको आय वृद्धि र राज्यको खर्च कटौती गर्ने योजना अघि सारेका थिए।

मन्त्री पाण्डेले छापाखानालाई आर्थिक रूपमा सबल बनाउने योजनामा प्रतिबद्धता जनाउँदै यो निर्णयले मन्त्रालयको मितव्ययी र प्रभावकारी व्यवस्थापनको उदाहरण प्रस्तुत गरेको जनाइएको छ।

यो कदमले छापाखानाको आर्थिक सुधारसँगै राज्यको स्रोतको अधिकतम उपयोगमा योगदान पुग्ने विश्वास गरिएको छ।

प्रकाशित मितिः   २०८१ मङ्सिर १६ at 5:21 pm 

  • कमेन्ट (Comment)