कनकासुन्दरी गाउँपालिका लिजा(LISA) मा जुम्ला जिल्लाकै प्रथम

आर्थिक वर्ष २०८०/०८१ को स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन (LISA) को नतिजामा जुम्लाको कनकासुन्दरी गाउँपालिका जिल्लाभरि पहिलो स्थान हासिल गरेको छ। कनकासुन्दरीले ८२ अंक प्राप्त गरी अग्रस्थानमा आउन सफल भएको हो।

जिल्लामा तातोपानी गाउँपालिकाले ८०.७५ अंकसहित दोस्रो स्थान हात पार्दा, ७५.५० अंक प्राप्त गरेको हिमा गाउँपालिका तेस्रो भएको छ। यसैगरी, चन्दननाथ नगरपालिका ७४.५० अंकसहित चौथो स्थानमा रह्यो। अन्य गाउँपालिकामध्ये तिला गाउँपालिका ६६.२५, सिंजा गाउँपालिका ६७.७५, पातारासी गाउँपालिका ६३.५० र गोठिचौर गाउँपालिकाले ६०.८५ अंक प्राप्त गरेका छन्।

LISA कार्यक्रममार्फत स्थानीय तहको कार्यप्रक्रिया, उपलब्धि र नीतिगत अभ्यासको आधारमा संस्थागत क्षमता मापन गरिन्छ। यसले शासकीय पद्धति, सेवा प्रवाह र विकास व्यवस्थापनका विभिन्न पक्षहरूको मूल्याङ्कन गरी सुधार गर्नुपर्ने क्षेत्र पहिचान गर्ने अवसर प्रदान गर्छ। साथै, स्थानीय सरकारबीच स्वस्थ प्रतिष्पर्धा जागृत गर्ने उद्देश्य पनि यस मूल्याङ्कनको रहेको छ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्वमूल्याङ्कनको गुणस्तर परीक्षण सम्पन्न गरी अन्तिम नतिजा सार्वजनिक गरेको हो। मन्त्रालयले प्राप्त नतिजा आवधिक समीक्षाको आधारका रूपमा प्रयोग हुने र स्थानीय तहलाई अझ जिम्मेवार, पारदर्शी र परिणाममुखी बनाउन मद्दत पुग्ने विश्वास व्यक्त गरेको छ।

जिल्लामा पहिलो स्थानमा परेका कनकासुन्दरी गाउँपालिकालाई यस उपलब्धिले स्थानीय सरकार सञ्चालनमा नयाँ ऊर्जा प्रदान गर्ने अपेक्षा गरिएको छ।

प्रकाशित मितिः   २०८२ भाद्र ७ at 3:05 pm 

  • कमेन्ट (Comment)