
लामो समयदेखि आन्दोलनरत शिक्षकहरु र नेपाल सरकार र बिच ९ बुँदे सहमति भएको छ । ९ बुँदे सहमतिलाई महत्त्वपूर्ण उपलब्धिका रुपमा लिएका शिक्षकहरूले विद्यालय शिक्षा ऐन जारी नहुँदासम्म आन्दोलन नरोक्ने अडानबाट पछि हटेको भन्दै शिक्षक नेताहरूको आलोचना गरेका छन् ।
उक्त सहमति अनुसार अब शिक्षकहरूले निजामती कर्मचारी ग्रेड र तलबमान पाउनेछन् । जुन आगामी आर्थिक वर्ष २०८२/०८३ बाट लागू हुनेछ ।
हिजो भएको सहमति अनुसार आगामी आर्थिक वर्ष २०८२/८३ बाट स्थायी शिक्षकमध्ये प्राथमिक तृतीय, प्राथमिक द्वितीय, निम्न माध्यमिक तृतीय र माध्यमिक प्रथम श्रेणीका शिक्षकले निजामती सरह ग्रेड संख्या र रकम कायम हुनेछ ।
त्यस्तै स्थायी तथा अस्थायी प्रकृतिका कोटा (राहत, अस्थायी, करार साबिक उमावि, प्राविधिक धार र विशेष शिक्षा) का सबै शिक्षकले प्रचलित कानुन बमोजिम दुर्गम भत्ता पाउने छन् ।
नेपाल सरकारको मर्यादाक्रम सूचीमा शिक्षकहरूलाई समावेश गरिने भएको छ । त्यस्तै शिक्षकहरूको स्वास्थ्य उपचारका सम्बन्धनमा काठमाडौँमा अवस्थित निजामती अस्पतालमा सम्पूर्ण शिक्षक तथा विद्यालय कर्मचारीलाई सहुलियत उपलब्ध गराउने सहमति भएको छ ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले गरेका सहमतिहरू मन्त्रिपरिषद् बैठकबाट समेत अनुमोदन भइसकेकाले कार्यान्वयनमा जाने शिक्षामन्त्री रघुजी पन्तले बताए ।











कनका खबर । २०८२ बैशाख १८