स्तनपान सम्बन्धी अभिमुखीकरण कार्यक्रम जुम्लामा सुरु

जनस्वास्थ्य सेवा कार्यालय जुम्लाको आयोजनामा आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु (विक्री वितरण नियन्त्रण) ऐन, २०४९ लगायत स्तनपान सम्बन्धी एक दिने अभिमुखीकरण कार्यक्रम आजदेखि जुम्लामा सुरु भएको छ।

होटेल दौतरी, जुम्लामा आयोजित कार्यक्रमको अध्यक्षता जनस्वास्थ्य सेवा कार्यालय जुम्लाका प्रमुख किरण शर्माले गरेका थिए भने प्रमुख अतिथिका रूपमा नेपाल पत्रकार महासंघ जुम्लाका अध्यक्ष पूर्णप्रसाद चौलागाईं सहभागी थिए।

कार्यक्रमको उद्देश्य स्तनपान, यसको महत्व तथा वर्तमान अवस्थाबारे जानकारी गराउनुका साथै आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु (विक्री वितरण नियन्त्रण) ऐन, २०४९ र नियमावली, २०५१ का प्रावधानबारे सरोकारवालालाई जानकारी गराउनु रहेको छ। साथै उक्त ऐन तथा नियमावलीको प्रभावकारी कार्यान्वयनका लागि निरीक्षण गर्नुपर्ने क्षेत्र, विषय तथा प्रक्रियासम्बन्धी ज्ञान, सीप र क्षमता अभिवृद्धि गर्ने लक्ष्य पनि राखिएको छ।

कार्यक्रममा जनस्वास्थ्य सेवा कार्यालय जुम्लाका प्रमुख किरण शर्माले प्रस्तुतीकरणमार्फत स्तनपानको महत्व, शिशु तथा मातृ स्वास्थ्यमा यसको योगदान, विद्यमान अवस्था तथा कानुनी व्यवस्थाबारे जानकारी गराएका थिए।

त्यसैगरी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका विशेषज्ञहरूले पनि स्तनपान, पोषण तथा बाल स्वास्थ्यसँग सम्बन्धित विषयमा प्रस्तुति दिएका छन्।

अभिमुखीकरण कार्यक्रममा जिल्लाका विभिन्न स्थानीय तहका स्वास्थ्य शाखाका पदाधिकारी, स्वास्थ्यकर्मी तथा सञ्चारकर्मीहरूको सहभागिता रहेको छ।

आयोजकका अनुसार स्तनपान प्रवर्द्धन, शिशु पोषण सुधार तथा आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तुको अनियन्त्रित प्रचारप्रसार र बिक्री वितरण नियन्त्रणका लागि सरोकारवालाको भूमिका थप प्रभावकारी बनाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो। कार्यक्रम एक दिनसम्म सञ्चालन हुने जनाइएको छ।

प्रकाशित मितिः   २०८३ असार १३ at 11:41 am 

  • कमेन्ट (Comment)