तातोपानी गाउँपालिकामा विद्यालय सहयोगी र भान्सेकर्मीहरूलाई लक्षित गरी आयोजना गरिएको पुनर्ताजगी तालिम सफलतापूर्वक सम्पन्न भएको छ। दुई दिनको प्रारम्भिक तालिमपछि २४ जनाले अर्गानिक खाद्य भण्डारण, सरसफाइ, भान्सा व्यवस्थापन, खाद्यान्न मापन, र मेनु कार्यान्वयनका विषयमा थप ज्ञान हासिल गरे। तालिमले उनीहरूलाई आफ्ना कार्यक्षमतामा सुधार गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ।
गाउँपालिका अध्यक्ष नन्दप्रसाद चौलागाईँले तालिमलाई प्रभावकारी भन्दै यो कार्यक्रमले स्थानिय उत्पादनको प्रवर्द्धनमा महत्वपूर्ण भूमिका खेल्ने बताए। “रैथाने बालीको प्रयोगलाई प्रोत्साहन गर्दै प्याकेजिङ्ग खाद्य पदार्थलाई विस्थापित गर्नु यस कार्यक्रमको मुख्य उद्देश्य हो,” उनले भने। अध्यक्षले विश्व खाद्य कार्यक्रम र हाम्रो पालिकाको सहकार्यमा भएको तालिमप्रति आभार प्रकट गर्दै यस्ता कार्यक्रमले कृषकहरूलाई थप प्रोत्साहित गर्ने विश्वास व्यक्त गरे।
सहभागीहरूले तालिमबाट सिकेका कुराले आफ्नो दैनिक कार्यलाई सहज बनाउन मद्दत गरेको बताए। उनीहरूले अर्गानिक उत्पादनको भण्डारणदेखि भान्सामा स्वच्छता कायम राख्नेसम्मका नयाँ सीपहरू सिक्न पाएकोमा खुसी व्यक्त गरे।
प्रमुख प्रशासकीय अधिकृत तिर्थ बहादुर कठायतका अनुसार तालिमले रैथाने बालिको उत्पादन, प्रयोग र प्रवर्द्धनका लागि सन्देशमूलक भूमिका खेल्यो। उनले भने, “कृषकहरूलाई उत्पादनमा जोड्न र रैथाने बालिको उपयोगिताबारे जानकारी दिन यस्ता तालिमहरू आवश्यक छन्।”
तालिमले स्थानीय बालिको महत्वमात्र नभई कृषिमा आबद्ध जनशक्तिलाई थप सक्षम बनाउने उद्देश्य राखेको थियो। प्रशिक्षार्थीहरूले यस तालिमलाई आफ्नो समुदाय र क्षेत्रको समग्र विकासका लागि अत्यन्त उपयोगी भएको बताएका छन्।
विश्व प्रकाश । २०८१ मङ्सिर १